कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
414

संखुवासभा - आधुनिक प्रविधिका रूपमा गाउँगाउँमा भित्रिएका कृषि औजारका कारण ‘जसको बलियो हल उसको धेर बल’, ‘जसको धेरै धान उसको ठूलो सान’ भन्ने जस्ता सामाजिक परम्पराको अन्त्य भएको छ ।
बलियो हल गोरु हुनेलाई सामाजिक मान–सम्मानले हेर्ने परम्परागत सोचको अन्त्य अहिले खेती–किसानीप्रति मानिसको वितृष्णाले पनि दर्साइरहेको छ । संखुवासभामात्र नभएर अहिले पूर्वी पहाडमा समेत युवाहरूको विदेश पलायन र परम्परागत खेती–प्रणालीमा आएको परिवर्तनले खेतहरू बाँझिएका छन्, गोठहरू रित्तिएका छन् ।

यसले सरकारले प्राथमिकतामा राखेको भन्ने गरिएको अर्गानिक खेती प्राणालीलाई उदाङ्गो र फिक्का बनाएको छ भने अहिले तराईमा जोताहा, पहाडमा हली राख्ने प्रचलन समेत मेटिँदै गएको छ । साहू–महाजन र मुखियाले हलीको सिंगो परिवारलाई वार्षिक रूपमा गुजारा चल्ने तथा बालबच्चाको रेखदेख र पालनपोषणका लागि वार्षिक रूपमा भर्ने गर्दै आएको दरमाया र वर्ष दिन सिंगो परिवारको लुगा कपडा सिलाउने सर्तमा अलिखित रूपमै राखिएको बालीघरे प्रचलन लोप हुँदै आएको छ ।
हल गोरु पालेर सिंगो गाउँमा हैकम राख्ने साहूप्रथा पनि सँगसँगै लोप भएको छ । अहिले तराईमा उन्नत प्रविधिका रूपमा आयातित ट्याक्टर र पहाडमा प्रयोगमा आएको मिनी ट्रिलरले पशुपालन र प्राङ्गारिक मलखादको परम्परालाई प्रचलनलाई समेत नराम्ररी असर पु-याएको छ । परम्परागत खेती प्रणालीलाई वैज्ञानिक रूप दिने होडबाजीमा संखुवासभालगायत पूर्वी पहाडी क्षेत्रमा कृषकहरूलाई सहुलियतमा प्रदान गरिएको मिनी ट्रिलरले अहिलेको खेती प्रणालीलाई थप अल्छे र निर्वाहमुखी बनाएको आमकृषकको बुझाइ छ । सानातिना तरकारी खेती र पहाडका सानासाना खेतका गराहरूमा खनजोत गर्न केही सहज देखिए पनि मर्मत र इन्धनमा कृषकहरूले आर्थिक हैरानी बेहोर्नपरेको खाँदबारीका कृषक वीरमान घले बताउँछन् । गोरुले जोत्दा कम्तीमा पनि १० देखि १२ इन्च गहिरो जमिन जोतिन्छ, तर मिनी ट्रिलरले ४ देखि ६ इन्च गहिरो मात्रै जमिन जोत्ने भएकाले मलजलको उचित समायोजन हुन नसक्दा उत्पादनमा ह्रास आएको उनको अनुमान छ ।
प्रविधि त आयो तर त्यसलाई बहुउपयोग गर्न कठिन छ । एक महिनासम्म मात्र नचलाइराख्ने हो भने पार्टपुर्जामा अनेकन् समस्या आउने गरेको छ । मर्मतका लागि साना किसानले थप आर्थिक भार बेहोर्नुपरेको आमकृषकको बुझाइ छ । अवैज्ञानिक रूपमा जथाभावी वितरण गरिएको हाते ट्याक्टर र मिनी ट्रिलरले कृषकमा उत्साह र ऊर्जा थप्नुका अतिरिक्त उनीहरूलाई थप निरुत्साहित बनाएको कृषक ताराकुमार खनालले जनाए । वर्षाैंदेखि तरकारी खेतीमा आबद्ध उनले राम्रो फसल उत्पादनका लागि पशुपालन छाडेर प्रविधितर्फ आकर्षित कृषक प्रांगारिक मलको अभावमा हुने कम उत्पादनको मारमा परेको भन्दै प्रविधिसँगसँगै प्रांगारिक मल उत्पादनमा जोड दिनु आवश्यक रहेको बताए ।
कृषकलाई आर्थिक रूपमा आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ सरकारी अनुदानमा भित्रिएका यस्ता अस्थायी प्रविधिले कृषकलाई थप गरिबीतर्फ धकेल्दै लगेको कृषक कृष्णबहादुर अधिकारी बताउँछन् ।
पछिल्लो समय प्रविधियुक्त औजारका रूपमा प्रयोगमा आएका केही सीमित कृषि औजारबाहेक अधिकांश नयाँ प्रविधिले कृषकमा हौसला र उत्साह थप्नुको साटो थप आर्थिक व्ययभार र उत्पादनमा निराशाजनक परिणाम निम्त्याएको खत्रीको भनाइ छ । होडबाजी र देखासिकीभन्दा समयमै सचेत भई भौगोलिक स्वरूपअनुसार कृषककै मागका आधारमा बहुउपयोगी प्रविधि आयातमा जोड दिँदै राष्ट्रिय आर्थिक समृद्धिमा टेवा पुग्ने गरी दिगो उन्नति हासिल गर्नतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले रणनीति तयार गरेर अगाडि बढ्न आवश्यक रहेको नागरिक समाजका अगुवा जीवनाथ खनाल बताउँछन् । परम्परागत कृषिलाई त्याग्दै गर्दा उत्पादनमा अनिवार्य वृद्धि हुनैपर्छ । यसले उत्पादनमा गुणात्मक वृद्धि ल्याउन सक्नुपर्छ, हैन भने आधुनिक प्रविधि प्रयोगका नाममा उत्पादनमा आउने ह्रासले कृषकलाई थप अधोगति र गरिबीतर्फ धकेल्दै जाने उनको राय छ ।
—कृष्णराज शाक्य