भुवन पौडेल
मंगलबार, मंसिर ३, २०७६
42208

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा ६ प्रतिशतले मात्रै बढेको छ । बैंकिङ क्षेत्रको उच्च प्रतिस्पर्धा र गाउगाँउमा शाखा विस्तारका कारण बैंकहरूको सञ्चालन खर्च वढेपछि नाफा वृद्धि न्यून भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूको नाफा करिब ४७ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले अक्रामक रूपमा कर्जा प्रवाह गरेको भए पनि नाफा वृद्धिदरमा उल्लेख्य कमी आएको छ । चालू आवको दोस्रो त्रैमास सुरु हुनुभन्दा पहिले नै बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम अभावको समस्या देखिन थालेको छ । यसले बैंकहरूको आगामी त्रैमासमा नाफा बढ्ने सम्भावना पनि न्यून देखिन्छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरूले ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १२८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पहिलो त्रैमासमा बैंकहरूले निक्षेप संकलनभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरूले पहिलो त्रैमासको अन्तिमदेखि नै कर्जा प्रवाहमा नियन्त्रण गर्न सुरु गरेका छन् । बैंकले कर्जा प्रवाहका लागि स्रोत अभावको समस्या देखिएपछि आगामी त्रैमासमा पनि सोहीअनुसार व्यवसाय वृद्धि नहुने देखिन्छ । बैंकहरूले निक्षेप अभावका कारण कर्जाको माग पहिलो त्रैमासको जस्तै कायम रहे पनि कर्जा प्रवाह भने नियन्त्रण हुने निश्चित छ ।

सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरणअनुसार १६ अर्ब १७ करोड ६४ लाख रुपैयाँ नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्ष २०७५÷७६ को तुलनामा ६.२९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १५ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेका थिए । यो अवधिमा बैंकहरूको ब्याज आम्दानी तथा अन्य आम्दानी करिब ७ प्रतिशतले मात्र वढेको छ ।
बैंकहरूबीच प्रतिस्पर्धा कायम नै रहेको खण्डमा आगामी त्रैमासमा पनि नाफा वृद्धि दर वढ्ने सम्भावना कम रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “बैंकहरूको सञ्चालन नाफा करिब एकल अंकमा बढेको मैले थाहा पाएसम्म यो पहिलो पटक हो,” उनले भने, “बैंकिङ क्षेत्रको व्यवसाय करिब १३ देखि १४ प्रतिशतले बढे पनि अत्यधिक प्रतिस्पर्धाले नाफामा असर गरेको हो ।” चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको कर्जा तथा निक्षेपमा पनि करिब १३ देखि १४ प्रतिशतको वृद्धि रहेको उनले बताए । “बैंकहरूले गाँउगाँउमा शाखा विस्तार गरेको हुनाले खर्च बढेको छ,” उनले भने । आगामी त्रैमासमा बैंकहरूको नाफा बढ्नका लागि अहिलको प्रतिस्पर्धा कम भइ स्प्रेड बढाउन सकेको खण्डमा नाफा वृद्धिमा केही सुधार आउनसक्ने उनले बताए ।
तर, नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा भने पछिल्लो समय ब्याजदर स्थायित्व तथा स्प्रेडदरको दबाबका कारण पनि मुनाफामा संकुचन आएको बताउँछन् । “अघिल्ला वर्षहरूको ठूलो आधार, केन्द्रीय बैकको कडा नियमन, तथा आयात घटेका कारण पनि ब्याजदरको वृद्धिदरमा कमि आएको हो,” उनी भन्छन् । तर अर्थतन्त्र संकुचन नै भइहालेको भने पहिलो त्रैमासको वित्तीय विवरणबाट मात्रै निक्र्योल गरिहाल्न नमिल्ने पनि थापा बताउँछन् ।
यस्तै, पछिल्लो समयमा बैंकहरूले डिवेञ्चर जारी गर्ने क्रम सुरु भएको छ । त्यसले बैंकको पुँजीप्रयाप्तताअनुपाततथा स्रोतको रूपमापनिकामगर्ने भएकाले बैंकहरूको ग्रोथ रणनीति मै जानखोजेको देखिन्छ । तर, निक्षेप थप भएन भने बैंकिङ प्रणालीमापुन समस्या कायम नै हुनेछ । यसका लागि सरकारले समयमा खर्च गर्नुपर्ने देखिन्छ । सरकाले चालू आर्थिक वर्षको ४ महिनासम्ममा २ खर्ब २५ अर्ब रुपैयाँमात्र खर्च गरेको छ ।
बैंकहरूले गरेको खुद नाफावाट सञ्चीत कोषमा २० प्रतिशत, समाजिक उत्तरदायित्वका लागि एक प्रतिशत तथा अन्य सञ्चितिका लागि एक प्रतिशत छुट्याएपछिको नाफा सेयरधनीलाई लाभांश स्वरूप बाँड्न सक्छन् । तर, बैंकहरूले अनिवार्य गरिएको भन्दा धेरै पनि सञ्चित कोष राख्न सक्ने भएकाले उक्त रकम पूरै सेयरधनीलाई वितरण गर्छन् भन्ने निश्चित भने हुँदैन । बैंकको वित्तीय अवस्था अनुसारको सञ्चित छुट्याएपछि मात्र लाभांश दिने निर्णय गर्छन् ।
बैंकहरूले पुँजी बढाएर ८ अर्ब पु¥याएसँगै प्रतिफलका लागि लगानीकर्ताको दबाब पनि उत्तिकै छ । लगानीकर्ताले लगानी गरेको पुँजीको प्रतिफलका लागि पनि बैंकहरूले नाफाको दौडमा निस्कनुपर्ने अवस्था छ । बैंकहरूले नयाँ निक्षेप नलिएसम्म कर्जा प्रवाह गर्न नसक्ने अवस्था आएकाले आगामी दिनहरू चुनौतीपूर्ण देखिन्छन् । त्यसका साथै नेपाली मुद्राका सामु अमेरिकी डलर बलियो भएपछि आयातमुखी अर्थतन्त्रमा कर्जाको माग झनै बढ्ने निश्चित छ ।
तर, पहिलो त्रैमासमा करिब ६ प्रतिशतले नाफा बढे पनि सेयरधनीले आफ्नो लगानीको उपयुक्त प्रतिफल पाउँछन् कि पाउँदैनन भन्ने कुरा भने प्रक्षेपण गर्न सकिने अवस्था छैन । यो अवधिमा बैंकहरूले पुँजी कर्जा तथा निक्षेप (सीसीडी) रेसियो कसिलो भएकाले नयाँ निक्षेपका लागि ब्याजदर बढाउनु पर्छ । ब्याजदर बढाउँदा बैंकको खर्च बढ्ने अवस्था आउँछ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वाणिज्य बैंकको नाफा गत आवको असोज मसान्तको तुलनामा घटेको छ । बाँकी २० बैंकको नाफा बढे पनि समान्य वृद्धिमात्र देखिएको छ । चालू आवको असोजसम्ममा सरकारी स्वमित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै १ अर्ब १२ करोड नाफा गरेको छ । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकलाई पछ्याउँदै निजी क्षेत्रका नबिल बैंक र एनआईसी एसिया बैंकले पनि एक अर्बभन्दा माथि नाफा गरेका छन् । पहिलो त्रैमासमा सबैभन्दा थोरै नाफा गर्ने बैंकमा भने सिभिल बैंक रहेको छ । बैंकले १५ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ ।