भुवन पौडेल
बिहिवार, आश्विन ३०, २०७६
471

 

गत वर्षभन्दा एकलाख ३९ हजार थपिए

बैंक तथा वित्तीय संस्थावाट कर्जा लिइ उद्योग व्यावसाय गर्ने संख्या बढ्दो क्रममा भए पनि निक्षेपकर्ताको तुलनामा ऋणीको संख्या भने निकै नै न्यून देखिएको छ । पछिल्लो वर्षमा मात्र १ लाख ३९ हजार ऋणी थपिँदा ३८ लाख २२ हजार निक्षेपकर्ता बढेका हुन् ।
नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचको अवस्थाबारेमा गरेको अध्ययनअनुसार २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको जनाएको छ । २०७५ असार मसान्तमा कर्जा खाताको संख्या १३ लाख १ हजार रहेको थियो । त्यसैगरी, २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको केन्द्रीय बैंकले गरेको अध्ययनले जनाएको छ । सो अध्ययन अनुसार २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो ।

अध्ययनअनुसार व्यक्तिले बैक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता खोलेको आधारमा वित्तीय पहुँचको मापन गरेको छ । सो विधिअनुसार वित्तीय पहुँचको मापन गर्दा सबै निक्षेप खाता गणना गर्नुको साथै एक व्यक्तिको एकभन्दा बढी निक्षेप खाता भएमा सो दोहोरोपना हटाउनु पर्छ । २०७६ जेठ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा स्वदेशी र विदेशी गरी कुल २ करोड ७८ लाख ६७ हजार अर्थात कुल जनसंख्याको ९४.१ प्रतिशत निक्षेप खाता रहेको अध्ययनले देखाएको छ । अध्ययन अनुसार बैंकहरूमा नागरिकले खाता खोल्दा पेश गर्ने तीन पुस्ते विवरणको आधारमा एक व्यक्तिको एक भन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउँदा करिब १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता कायम हुन आउने देखिन्छ ।
अध्ययन प्रतिवेदनमा भनिएको छ, “२०७६ मा नेपालको जनसंख्या २ करोड ९६ लाख रहेको अनुमान गर्दा ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको छ, यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ ।”
नेपालमा वित्तीय पहुँच तीब्र रूपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अकोतर्फ वित्तीय प्रविधिको प्रयोग तीब्र रूपमा बढ्दैगएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको अध्ययनको दावी छ ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३ हजार ३ सयमा आइपुगेको अध्ययनले औल्याएको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ । पछिल्लो समयमा नेपालमा बैंकिङ सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको अध्ययनको निष्कर्ष रहेको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान अध्ययनले गरेको छ ।
सबै स्थानीय तहमा वाणिज्य वैंकहरूको कम्तीमा एक शाखा पु-याउने नीतिअनुरूप अनुरूप २०७६ असोजसम्ममा ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा विस्तार भएको छ । २०७५ असार मसान्तसम्म ६३१ र २०७४ असार मसान्तमा २९६ स्थानीय तहहरूमा मात्र वाणिज्य बैकहरूका शाखा विस्तार भएको थियो । २०७६ असोज महिनासम्ममा प्रदेश ५ का सबै स्थानीय तहहरूमा वाणिज्य बैंकका शाखा पुगिसकेको छ भने सुदुर पश्चिम प्रदेशका ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक एक स्थानीय तह र कर्णाली प्रदेश, प्रदेश ३ र प्रदेश २ का दुई दुई स्थानीय तहहरूमा अझै बैंक शाखा पुगेका छैनन् ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूका एटिएम संख्या उल्लेख्य वृद्धि हुँदै २०७६ असार मसान्तमा ३३१६ पुगेको छ । अघिल्लो वर्ष यो संख्या २७९१ रहेको थियो । मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या समेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ । त्यसैगरी, शाखा रहित बैंकिङ केन्द्रको संख्या पनि बढ्दै गएको छ अध्ययनले देखाएको छ ।


सातामा धेरै पढिएको