कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
659

नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेषःसमारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सो अवसरमा सभापतिको आसनबाट बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उच्चतम व्यावसायिक अभ्याससहित उम्मेदवारहरूमध्ये योग्यतम व्यक्तिलाई बैंकको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको बताउँदै यस कार्यमा नेपाल सरकार, बैंकभित्रका कर्मचारी युनियन र सम्बद्ध सरोकारवालाबाट प्राप्त सहयोगको हार्दिक सराहना गरे । यस्तै, बैंकका सञ्चालक दीपेन्द्र विक्रम थापाले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अत्यन्त व्यावसायिक व्यक्तित्व रहेको बताउँदै उनको कार्यकाल सबै सरोकारवालामा बैंक होस् त नेपाल बैंकजस्तै अर्थात बैंक भनेकै नेपाल बैंक भन्ने मान्यता स्थापित गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गरे ।
सो अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपालकै अगुवा बैंकमा प्रमुख कार्यकारी पदमा आफूलाई दिइएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही सबैको विश्वासको धरोहरको रूपमा रहेको नेपाल बैंकको श्रीवृद्धिका लागि नैतिकतापूर्ण एवं व्यावसायिक बैंकिङ अभ्यास आत्मसात गरी मन वचन र कर्मले समर्पित रहने प्रतिबद्धता प्रकट गरे ।