भुवन पौडेल
शुक्रवार, आश्विन १७, २०७६
974

 

कर्जा लगानीयोग्य रकमको अभाव बढ्दै

चालू आर्थिक वर्षको पहिलो त्रैमास नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम अभावको समस्या देखिएको छ । गत आर्थिक वर्षमा दोस्रो त्रैमास सुरु हुँदा देखिएको समस्या चालू आर्थिक वर्षमा झनै छिटो देखिएको हो ।
कर्जाको माग उच्च तथा सीमित निक्षेपको स्रोतका कारण बैंकहरूले बर्सेनि कर्जा लगानीयोग्य रकम अभावको समस्या झेल्नुपरेको बैंकरहरू बताउँछन् । त्यसका साथै चालू आर्थिक वर्षको साउन अन्तिमसम्ममा सरकारी ढुकुटीमा १३७ अर्ब मौज्दात छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम पनि यसमा समावेश छ । सरकारले कर उठाउने तर समयमा खर्च नगर्ने प्रवृत्तिका कारण पनि बैंकिङ प्रणालीमा समस्या दोहोरिरहने गरेको उनीहरूको विश्लेषण छ ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकहरूले १७५ अर्ब निक्षेप संकलन गरेका थिए । सो अवधिमा बैंकहरूले ७८ अर्ब कर्जा प्रवाह गरेका थिए । गत आर्थिक वर्षको निक्षेपबाट बैंकहरूले चालू आर्थिक वर्षमा लगानी गर्न सक्ने रकम भनेको करिब ७८ अर्बमात्र हुन आउँछ । तर, बैंकहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमास नसकिँदै अर्थात् असोजको १० गतेसम्ममा ९९ अर्ब कर्जा प्रवाह गरिसकेका छन् । चालू आर्थिक वर्षको असोज १० गतेसम्ममा बैंकहरूले ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंकहरूले असोज १० गतेसम्ममा ११६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्छन् । यो अवधिमा बैंकहरूले ९९ अर्ब लगानी गरिसकेको हुँदा १७ अर्ब रुपैयाँमात्र लगानी गर्न सक्ने क्षेत्रमा बैंकिङ प्रणालीको रहेको देखिन्छ ।
चालू आर्थिक वर्षमा गत आवमा भन्दा छिटो कर्जा लगानीयोग्य रकमको समस्या देखिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बताए । “बैंकहरूको असोज पछिल्लो साताको निक्षेप र कर्जाको अनुपात हेर्ने हो भने पनि ८० प्रतिशतको पुँजी, कर्जा निक्षेप अनुपात भन्दा माथि गएको देखिन्छ,” उनले भने । बैंकहरूले असोजको पहिलो सातामा मात्र ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसले पनि कर्जा लगानीयोग्य रकमको उपलब्धता सहज अवस्थामा नरहेको उनको भनाइ छ । बैंकहरूले गत आर्थिक वर्षको अन्तमा लिएको निक्षेपलाई समेत कर्जा प्रवाह गरिसकेको अवस्था रहेको बताउँदै उनले भने, “चालू आर्थिक वर्षको मौद्रिक नीतिले स्रोत व्यवस्थापनामा जोड दिएको भए पनि त्यसको प्रभाव पर्न अझै समय लाग्छ ।” पछिल्लो समय विदेशी मुद्रामा खाता खोल्ने तथा निक्षेप लिने काम सुरु गरिसकेको भएपनि त्यसको प्रभाव पर्नका लागि केही समय लाग्ने देखिन्छ ।
पछिल्ला दिनहरूमा धेरैजसो बैंकमा कर्जा लगानी योग्य रकमको अभाव बढ्न थालेको छ । आयातमा आधारित हाम्रो अर्थतन्त्रमा सानोदेखि ठूलो कर्जाको माग अधिक देखिएको अर्का एक बैंकरले बताए । चाडपर्वको व्यापारका लागि सानादेखि ठूला व्यापारी तथा उद्यमीले कर्जाको माग गरेका छन् भने निक्षेपकर्ताले पनि निक्षेप झिक्ने क्रम बढेकाले पनि कर्जा निक्षेपको असन्तुलन बढ्दै गएको ती बैंकरको भनाइ छ ।
गत आर्थिक वर्षको अन्त्यतिर बैंकहरूले कर्जामा नियन्त्रण गरेका थिए । तर, सरकारी खर्च आर्थिक वर्षको अन्त्यमा हुने परम्पराले गर्दा बैंकहरूमा निक्षेप भने थपिएको थियो । चालू आर्थिक वर्षमा पनि सोही अवस्था आउने देखिएको हो । गत आर्थिक वर्षको सरकारी खर्चका कारण थपिएको निक्षेप चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै कर्जा प्रवाह भएको छ । बैंकहरूले आर्थिक वर्षको सुरु भएको पहिलो त्रैमासमा वर्षभरीको ब्याज आम्दानी हुने भएकाले पनि धेरै नै लगानी गर्न खोज्छन् ।
चालू आर्थिक वर्षको असोज १० गतेसम्ममा बैंकहरूले कुल २९ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका छन् । सो अवधिसम्ममा बैंकहरूले २५ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकमा नयाँ निक्षेप नआउने र आक्रामक कर्जा विस्तारका कारण पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपात कसिलो अवस्थामा पुगेको हो । यसले बैंकहरूले लगानी गर्नका लागि नयाँ निक्षेप ल्याउनुपर्ने देखिन्छ । स्रोतको दौडमा बैंकहरूले ब्याजदर चलाउने र समग्र अर्थतन्त्रलाई नै प्रभावितसमेत पार्न सक्ने अवस्था रहन्छ । तर, त्यसका लागि बैंकहरूले निक्षेप दिने ब्याजदरमा भद्र सहमति गरेको हुनाले केही नियन्त्रित हुन सक्ने सम्भावना भने देखिन्छ ।