कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
416

लमजुङ- राष्ट्रिय बाणिज्य बैक बेंसीसहर शाखाले अतिरिक्त समयमा कारोबार सुरु गरेको छ । बडादसंैको अवसरमा सेवाग्राहीहरूको भीड बढेपछि शाखाले बिहान र बेलुकाको समयमा अतिरिक्त सेवा प्रदान गरेको हो ।
बैंकमा सेवाग्राहीहरूको भीड बढेपछि सेवालाई सहज बनाउन बिहानको समयमा अतिरिक्त सेवा दिएको राष्ट्रिय बाणिज्य बैंक बेंसीसहर शाखाका प्रवन्धक सोमनाथ पौडेलले बताए । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म अतिरिक्त समयमा बैंकबाट काम कारबाही भइरहेको शाखा प्रबन्धक पौडेलले बताए ।

“अहिले दसंैको बेला सेवाग्राहीको भीड निकै बढेकाले बिहानमा पनि अतिरिक्त सेवा दिएका छौं,” पौडेलले भने, “बिहान ७ बजेदेखि ९ बजेसम्म अतिरिक्त कारोबार भइरहेको छ ।”
बैंकमा विशेष गरी दसंैका लागि नयाँ नोट सटही, तलब, पेन्सन लिनेलगायतका सेवाग्राहीहरूको भीड बढेको छ । बैंकले सेवाग्राहीहरूका लागि ५ हजार रुपैयाँसम्म नयाँ तथा खुद्रा नोट उपलब्ध गराएको बैंकले जनाएको छ ।
बिहानी सेवासँगै बैंकले बेलुका पनि साविक समयभन्दा ढिलासम्म काम कारबाही गरेको जनाएको छ । सेवाग्राहीको चापको आधारमा बेलुकीको समय सेवा दिइरहेको शाखा प्रवन्धक पौडेलले बताए ।
बैंकले बिहानी सेवा ७ देखि ९ बजेसम्म काम कारबाही गर्ने र १० बजेबाट नियमित सेवा दिइरहेको जनाएको छ । यस्तै बैंकले सेवाग्राहीहरूलाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा दिएको शाखा प्रवन्धक पौडेलले बताए ।
सविकमा दैनिक ३ सयको हाराहारीका सेवाग्राही आउने बैंकमा हाल दैनिक ७ सयभन्दा बढी सेवाग्राहीहरू आउने गरेको बैंकले जनाएको छ । सेवाग्राहीको भीड बढेसँगै बैंकमा दैनिक ३० करोडको कारोबार हुँदै आएको बैंकका शाखा प्रवन्धक पौडेलले बताए ।