कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
479

आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच शनिबार बसेको बैंकको सञ्चालक समितिको ३१४औं बैठकद्वारा सर्वसम्मत रूपमा अध्यक्षमा मनोनित हुनु भएका राजनसिंह भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
बैंकको स्थापनाकालदेखि पुस २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकाल पूरा गर्नुभएका भण्डारीले आगामी ४ वर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा ७४ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।
यस बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुदमुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको इजाजतप्राप्त संस्था सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरू अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखा विस्तार गर्ने योजना अगाडि सारेको छ ।