कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
498

विराटनगर-कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५-७६ मा कुल ५७ करोड ५२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले १४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा १४ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको छ ।
अघिल्लो आवमा बैंकले १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार रुपैयाँ लगानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १ अर्ब ६२ करोड ३६ लाख ६५ हजार रुपैयाँ भन्दा बढी रकम लगानी गरेको बैंकका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिए ।

गत आर्थिक वर्षमा ८ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकल गर्ने लक्ष्य लिएको बैंकले सो अवधिमा ७ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ प्रतिशत प्रगति हासिल गरेको छ । यो लक्ष्यको तुलनामा १ अर्ब ३ करोड ३८ लाख रुपैयाँ कमी हो । बैंकले गरेको लगानीमा संकास्पद नेक्सानी व्यवस्थामा ३३ करोड ४९ लाख ८२ हजार रुपैयाँ रकम राखेको छ ।
बैंकले गत आर्थिक वर्ष कृषि कर्जातर्फ इलाममा ४ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ, झापामा ८ अर्ब ६५ लाख ८५ करोड रुपैयाँ, धनुकटा र तेह्रथुममा १ अर्ब ८९ करोड रुपैयाँ, सुनसरीमा १ अर्ब २० करोड र मोरङमा १ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै उद्योगतर्फ इलाममा १ करोड १७ लाख रुपैयाँ, झापामा ७ करोड ७७ लाख रुपैयाँ, धनकुटा र तेह्रथुममा ७१ लाख रुपैयाँ, सुनसरीमा ७ करोड ९३ लाख र मोरङमा २ करोड ६० लाख रुपैयाँ लगानी गरेको सो बैंकले जनाएको छ ।
कुल १ लाख ४६ हजार ४३० सेवाग्राही रहेको बैंकमा ५४ हजार १६७ जना सक्रिय छन् । मेची र कोसी अञ्चल कार्यक्षेत्र रहेको बैंकमा ३३ वटा शाखा, एक क्षेत्रीय कार्यालय र मोरङमा एक तालिम केन्द्र छन् । बैंकले खानी, कृषि, उद्योग, होटेल तथा पर्यटन, निर्माणसम्बन्धी, घरायसी कर्जा, आयात–निर्यात कर्जा, जलविद्युत्, चिया र अलैँची, नगदेबाली जस्ता क्षेत्रमा लगानी गर्नुका अतिरिक्त सरकारको अनुदानको काम, सरकारी कारोबार, स्थानीय निकायको खाता, सामाजिक सुरक्षा भत्ता वितरण, वन र विद्यालयमा संस्थागत उत्तरदायी निर्वाह गर्दै विदेशी मुद्रा खरिद–बिक्री गर्ने गर्छन् ।