कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
337

रामेछाप-नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले गत आर्थिक वर्ष २०७५-७६ मा १ करोड ४१ लाख ६ सय ४७ रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थामा भएका कुल ५ हजार ९ सय ९ जना सेयर सदस्यहरूबाट संकलन गरिएको निक्षेपलाई ऋण लगानी गरी उक्त रकम नाफा भएको संस्थाका अध्यक्ष श्याम थापाले जानकारी दिए ।
नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सोमबार मन्थलीमा आयोजना गरेको पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रममा उनले नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) ले आफनो ३२ औं स्थापना दिवसका अवसरमा यस सहकारीलाई ३ नं प्रदेशकै उत्कृष्ट सहकारीको घोषणा गरेको कुरा जानकारी दिए ।

सो अवसरमा संस्थाका व्यवस्थापक रमेश उदाशले संस्थामा हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार २०५५ साउन १२ गते विधिवत रूपमा दर्ता गरी साविक मन्थली गाविस–८ का महिलाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहकारीले सदस्यता राहत कार्यक्रम, सदस्यहरूको दुर्घटना बिमा, सदस्य अवलोकन भ्रमण, ज्येष्ठ बचत र बाल बचत, सुरक्षितमातृत्व कार्यक्रममा सेयर सदस्यका बालबालिकाहरूलाई सुरक्षित बाल भविष्य हितकोष कार्यक्रम ल्याइएको जानकारी दिए ।
सञ्चारकर्मीहरूले नवजागरण साकोसले नाफामूलक मात्र होइन संस्थाबाट सामाजिक काम पनि गर्नुपर्ने कुराको सुझाव दिएका थिए ।