कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
389

नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रूपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्की जिल्लाको माछापुछ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट सुरु गरेको जनाएको छ ।
बैंकले सुरुवाती रूपमा आफ्नो अगुवाई तथा हिमालयन बैंकको सह अगुवाई र सानिमा बैंकको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको सुरुवात गरेको हो । कुल परियोजना लागत ५ अर्ब ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाईमा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह हुने बैंकले जनाएको छ । देशको पूर्वाधार विकासका परियोजनाहरूमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरूको पहिचान एवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरूमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको पनि जानकारी गराएको छ ।