कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
398

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई नियन्त्रण नगरे दुर्घटना हुने संकेत देखा परेको बताइएकी छन् । जथाभावी रूपमा संस्था सञ्चालन गर्दा समस्या बढेको भन्दै उनले सरकार समस्या समाधान गर्न लागिरहेको बताइन् ।
“सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि भयानक दुर्घटनाको संकेत देखा परेको छ,” स्वावलम्बन विकास केन्द्रको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, “नयाँ सहकारी ऐन र नियमावलीमार्फत यसलाई नियन्त्रण गर्न लागिरेहका छौं ।” उनले एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब अनलाइन सिस्टमबाटै गरिने जानकारी दिइन् ।

यसैगरी सहकारी कर्जा सूचना केन्द्र अब व्यवहारमै लागू हुनेगरी कार्यान्वयन गरिने मन्त्री अर्यालले जानकारी दिइन् । नियमावलीको व्यवस्था अनुसार कर्जा सूचना केन्द्र स्थापना भएपछि अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने उनको भनाइ थियो । “एउटा सहकारी संस्थामा बदमासी गरेर ठाउँ परिवर्तन गरेर फेरि सहकारी संस्थाको मालिक भएर त्यस्तै खालको गतिविधि गर्ने प्रवृति अब सूचना केन्द्र स्थापना भए पनि अन्त्य हुन्छ,” उनले भनिन् ।
मन्त्री अर्यालले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्तै–उस्तै भएको भन्दै संस्था ठूलो बन्दै जाँदा झन् राम्रो हुनुपर्नेमा केही समस्या उत्पन्न हुँदै गएको बताइन् । “संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरू विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन,” मन्त्री अर्यालले भनिन्, “अब सिस्टमबाटै समस्या ती समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउँ ।”
मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम गरिरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने जानकारी दिइन् ।
यसैगरी कार्यक्रममा स्वावलम्बन विकास केन्द्रले मानसी लघुवित्त वित्तीय संस्था काभ्रेलाई नगद एक लाखसहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरेको छ ।