कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
1301

योजनामा लगानी गर्न चाहने लगानीकर्ताले प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १ सय इकाइका लागि निवेदन दिन सक्नेछन भने अधिकतम १४ करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ म्युच्युअल फन्डले चौथो योजना ‘एसआईजीएस–२’ को बिहीबार (आज) देखि निष्कासन तथा बिक्री खुल्ला गरेको छ । १ अर्ब ४० करोड रुपैयाँ बराबरकोे सो योजनाको बिक्री बन्द छिटोमा आगामी सोमबार बैंकिङ समयपछि हुनेछ ।
सिद्धार्थ म्युच्युअल फन्डको कोष प्रबद्र्धकको रूपमा सिद्धार्थ बैंक रहेको छ । साथै योजना व्यवस्थापकको रूपमा सिद्धार्थ क्यापिटल रहेको छ । १० करोड ४० लाख इकाई बिक्री गरी संकलन हुने १ अर्ब ४० करोड रुपैयाँ अधिकांस सेयर बजारमा नै लगानी गर्ने योजना रहेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले बताए ।

योजनामा लगानी गर्न चाहने लगानीकर्ताले प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १ सय इकाइका लागि निवेदन दिन सक्नेछन भने अधिकतम १४ करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । १० वर्षपछि लगानीकर्तालाई खुद सम्पत्ति मूल्यांकन गरी फिर्ता गर्ने गरी निष्कासन गर्न लागेको सो योजनाले बार्षिक औसत प्रतिफल २० प्रतिशत दिने प्रक्षेपण छ । बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले योजना व्यवस्थापक तथा डिपोजिटरीको रूपमा कार्य गर्नेछ ।
सो योजनामा सिद्धार्थ बैंकले निष्कासन रकमको १५ प्रतिशत अर्थात २१ करोड रुपैयाँ बरावरको बीज पुँजीको रूपमा लगानी गर्नेछ । अहिलेको धितोपत्रको दोस्रो बजारको अवस्थाअनुसार इक्यूटीमा नै लगानी केन्द्रीत गर्न सकेको खण्डमा इकाइधनीलाई धेरै प्रतिफल दिन सकिने तिमिल्सिनाले बताए । “अहिले बजारको वियर साइकल सकिएर बुल सुरु हुन लागेको छ,” उनले भने, “सेयर बजारमा आगामी दिनमा आउने २ वटा बुलमार्फत प्रतिफल बुक गेर लगानीकर्तालाई सक्दो धेरै रिटर्न दिन सकिने सम्भावना देखिन्छ ।”
सिद्धार्थले यसअघि २ वटा योजनाको व्यवस्थापन गरी लगानीकर्तालाई प्रतिफलसहित फिर्ता गरिसकेकाले यो अनुभवले पनि आगामी योजना व्यवस्थापना सहज हुने उनी बताउँछन् । “सिद्धार्थ म्युच्युअल फन्डअन्तर्गतका सबै योजनाले उत्कृष्टदेखि उचित प्रतिफल दिएका छौं,” उनले भने, “आगामी योजनामा पनि त्यो प्रतिफलको निरन्तरता कायम राख्न सक्ने क्षमता भएको व्यवस्थापन समूह छ ।” विगतका योजनाको व्यवस्थापन तथा लगानीकर्तालाई दिएको प्रतिफलका कारण पनि आगामी दिनमा समेत सर्वसाधारणले विश्वास गर्ने उनको दाबी छ । सर्वसाधारणले हामीलाई गरेको विश्वासलाई कायम राख्दै नयाँ योजना पनि व्यवस्थापन गर्न लागी पर्ने उनले बताए ।
धितोपत्र बजारमा सामूहिक लगानी कोषको सुरुवातकर्ता सिद्धार्थ सामूहिक लगानी कोषले यसअघि तीन वटा योजना सञ्चालन गरिसकेको छ । पहिलो योजनामा बार्षिक औसत ४८.४५ दिएको थियो । सिद्धार्थ म्युच्यअल फन्डले पहिलो योजना परिपक्व गरी इकाइधनीलाई फिर्ता पनि गरिसकेको छ । सो योजनाका इकाइधनीले १० रुपैयाँ लगानी गरेको आफ्नो लगानी फिर्ता लिँदा प्रतिइकाई २१ रुपैयाँ ७७ पैसा पाएका थिए । त्यसैगरी सिद्धार्थको दोस्रो योजना पनि परिपक्व हुने अवस्थामा छ । दोस्रो योजनाका इकाइधनीले बार्षिक औसत प्रतिफल ५३ प्रतिफल लिएका छन् । सो योजना परिपक्व हुदाँ इकाइधनीले १३ रुपैयाँभन्दा माथि पाउने अवस्था छ । त्यसैगरी तेस्रो योजना सञ्चालन गरेको सिद्धार्थ सामूहिक लगानी कोषले इकाइधनीलाई ११ प्रतिफल लाभांश वितरण गर्ने घोषण गरिसकेको छ ।