सागर परियार
आइतवार, श्रावण ५, २०७६
982

जुम्ला-चन्दननाथ नगरपालिका–७ मिचागाउँका दत्त सार्कीले स्वावलम्बन बैंकबाट गतवर्ष भैंसीपालनका लागि ८० हजार रुपैयाँ ऋण लिए । सार्कीले श्रीमतीको नाममा २०७५ भदौ १० गते स्वावलम्बन बैंक जुम्ला शाखाबाट ८० हजार रूपैयाँ ऋण लिएका हुन् । बार्षिक १२ देखि १८ प्रतिशत व्याजदरमा ऋण लिएका सार्कीले ६ महिनाको अवधिमा झन्डै ४० हजार ऋण चुक्ता गरिसकेका थिए । ४५ हजार बाँकी थियो ।
बैंकले ऋण तिर्न ताकेता दिएपछि दत्त सार्की तोकिएको मितिमा नर्तिदा भैंसीनै जफत गरी बैंकले लगेको थियो । ऋण तिर्न नसक्दा भैंसी जफत भन्ने समचार विभिन्न सञ्चारमाध्यममा आएपछि सार्कीले ४५ हजारको १० हजार किस्ता चुक्ता गरेपछि बैंकले जफत गरेको भैंसी फिर्ता गरेको हो ।

स्वावलम्बन बैंक जुम्लाका सहायक प्रबन्धक भरतबहादुर बोहोराका अनुसार चाँडै तिर्लान् र सचेत होलान् भनेरै भैंसी ल्याइएको हो । तर सार्की ऋण तिर्नुको सट्टा झनै टाढा हुन थालेपछि बैंकले धौधौ गरी समन्वय गरेर किस्ता हाल्न लगाई भैंसी फिर्ता गरेको उनले बताए । “बैंकले आफ्नो नीति नियमअनुसार ऋण लगानी गरेको हुन्छ, र पहिलानै किस्ता तिर्ने समयअवधिबारे जानकारी गरेको हुन्छ,” उनले भने, “किस्ता तिर्न ताकेदा गर्दा पनि अटेरी गरेपछि भैंसी ल्याएका हौं ।”
तर, बैंक तथा ऋण लिने व्यवसायीले नराम्रो असर परेको भन्दै गुनासो गरे । ऋणी सार्कीले आफू कतै नभागेको भए पनि सञ्चारमाध्यममा समाचार आएपछि असजिलो महसुस भएको बताए । “ऋण नतिरी भाग्ने कुरा नै थिएन, तर पनि ईष्टमित्रका अगाडि गाह्रो महसुस हुँदा किस्ता तिर्न ढिलो भएको हो,” उनले भने, “अहिले १० हजार तिरेको छु अब ३५ हजार बाँकी छ विस्तारै तिर्नेछु ।”
व्यावसायिक बन्न बैंकले दिएको ऋण समयमै सदुपयोग गर्नुपर्ने, बैंकिङ नीतिलाई ख्याल गर्नु पर्ने कुराको सिकाई भएको सार्कीले बताए । स्वावलम्बन बैंकका सहायक प्रबन्धक बोहोराले ऋण सानो ठूलो जति भए पनि बैंकिङ नीतिअनुसार कारोबार अघि बढ्ने बताए । “बैंकप्रति नकरात्मक सोच राख्नु हुँदैन,” उनले भने, “ऋण लिएकाहरू समयमै रकम चुक्ता गरेर पनि व्यवसायी बन्न सक्छन् ।”
हाल बैंकले जुम्लाका चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा समूह गठन गरी लघुवित्त कार्यक्रमअन्तर्गत विभिन्न व्यवसायका लागि ऋण लगानी गरेको छ ।
बैंक विभिन्न व्यवसायका लागि ऋण लगानी गरी बार्षिक १२ देखि १८ प्रतिशतसम्म ब्याज उठाउने गरेको छ । बैंकले जुम्लामा बार्षिक १७ करोड २४ लाख रुपैयाँको कारोबार गर्ने गरेको जनाएको छ । हालसम्म ५ करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरिएको बैंकका सहायक प्रबन्धक बोहोराले बताए ।