कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
431

हाते पुस्तिका सार्वजनिक

धनगढी-सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशवासीमा वित्तीय साक्षरता कमजोर भएको हुनाले आर्थिक उन्नतिसमेत कमजोर भएको ठहर गर्दै आर्थिक मामिला मन्त्रालयले आउँदो आर्थिक वर्षमा सो अभियान सञ्चालन गर्ने भएको हो । प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालनका लागि मन्त्रालयले प्रकाशन गरेको वित्तीय साक्षरतासम्बन्धी हातेपुस्तिका शनिबार धनगढीमा सार्वजनिक गरेको छ ।
पुस्तिका सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले वित्तीय साक्षरताको माध्यमबाट प्रदेशले आर्थिक समृद्धि हासिल गरिने बताए । उनले वित्तीय साक्षरताका साथ साथै डिजिटल बैंकिङ प्रणालीलाई जोड दिइएको बताए ।

वित्तीय साक्षरतामार्फत बैंकिङ प्रणालीलाई जोड दिँदा करको दायरा बढ्नुका साथै सेवा प्रवाह र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको अर्थमन्त्री बोहराले बताए । उनले डिजिटल बैंकिङ सेवाले गर्दा करदाताको संख्यामा वृद्धि हुने समेत बताए । बैंकिङ कारोबारले भ्रष्टाचार न्यूनीकरणका साथै सम्पत्ति शुद्धीकरणसमेत सहयोग पुग्ने दाबी गरेका छन् ।
मन्त्री बोहराका अनुसार प्रदेशका प्रत्येक परिवारमा एक प्रतिवित्तीय साक्षरतासम्बन्धी हाते पुस्तक पु¥याउने करिब २० हजार प्रतिवितरण गरिनेछ । प्रत्येक स्थानीय तह र वडाहरूमा वित्तीय साक्षरता अभियान चलाइने उनले बताए । प्रत्येक नागरिकको बैंकमा पहुँच बढाउने, प्रदेशवासी सबैलाई आयआर्जनमा सहभागी गराउने, बचत र बिमासम्बन्धी सचेतना जगाउने जस्ता क्रियाकलाप वित्तीय साक्षरता अभियानअन्तर्गत गरिने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपालप्रसाद अर्यालले पुस्तिकामा सबै वित्तीय क्षेत्रलाई समावेश गरिएको बताए । उनले वित्तीय साक्षरता, आयआर्जन, बिमा, बचत, खर्चको तरिका, बैंकिङ कारोबार, सहकारी र लघुवित्त संस्थालगायतका विषयलाई समेटेर पुस्तिकामा समावेश गरिएको बताए ।
सुदूरपश्चिमको ८८ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मात्रै बैंकहरूको शाखा विस्तार गर्न बाँकी रहेको बताउँदै आर्थिक मामिलामन्त्री बोहराले बाँकी रहेका स्थानीय तहमा समेत बैंकका शाखा विस्तार गर्न पहल भइरहेको बताए ।