कारोबार संवाददाता
आइतवार, असार २९, २०७६
828

सहकारी विभागले एकभन्दा बढी सहकारीमा रहेको दोहोरो सदस्यता हटाउन निर्देशन दिएको छ । सहकारी ऐनले कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने गरेसँगै विभागले सूचना जारी गरी दोहोरो सदस्यता हटाउनका निर्देशन दिएको हो ।
सहकारी ऐन—२०७४ को दफा ३२ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था छ । यसैगरी ऐन प्रारम्भ हुनुअघि नै एक भन्दा बढी संस्थाको सदस्य रहेका व्यक्तिले तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्नेछ । २०७४ साल कात्तिक १ गतेदेखि ऐन लागू भएकाले एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएका व्यक्तिहरूले २०७७ साल असोजभित्रै आफूले छनोट गरेको कुनै एकमात्र सहकारीमा सदस्यता राखी अन्य संस्थाहरूको सदस्यता अन्त्य गनुपर्ने भएको छ ।

निर्देशनअनुसार सदस्यता कायम नगर्ने संस्थालाई कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ । विषेश गरी सहरी क्षेत्रमा सर्वसाधारणले एकभन्दा बढी सहकारीमा सदस्य बनेर कारोबार गर्दै आएका छन् । एकै व्यक्तिले धेरैवटा सहकारीमा कारोबार गर्दा विकृति बढेको भन्दै सरकारले ऐनमै यसलाई हटाउने व्यवस्था गरेको हो । तर, सहकारी अभियानकर्मीहरूले भने यसलाई कार्यान्वयन गर्न नसकिने भन्दै विरोध गर्दै आएका छन् ।
यसअघि विभागले सहकारी दर्ता तथा नियमन मापदण्ड–२०६८ मा पनि एकै प्रकृतिका एउटा मात्र सहकारीको सदस्यता लिन पाउने व्यवस्था गरेको थियो । तर, उक्त व्यवस्था कार्यान्वयनमा आएन । मापदण्डको व्यवस्था कार्यान्वयन नभएपछि सरकारले ऐनमै दोहोरो सदस्यताको प्रावधान राखेको हो । सहकारी दर्ता तथा सञ्चालक प्रक्रिया सजिलो हुँदा पछिल्लो समयमा सहकारीको संख्या ह्वात्तै बढेको हुन् । एकै ठाउँमा धेरै सहकारीहरू थुप्रिँदा सहकारीमा सदस्यहरू दोहोरिएका हुन् । ऋणलगायतका सुविधा लिनका लागि धेरैवटा सहकारीमा सदस्य बन्ने प्रवृत्ति छ । काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रहरूमा सहकारीहरू धेरै भएकाले एउटै व्यक्तिले धेरैवटा सहकारीमा सदस्य बनी कारोबार गर्ने गरेका छन् । विशेषतः सहरी क्षेत्रमा व्यापारीहरू ऋण लिनकै लागि धेरै सहकारीमा सदस्य बन्ने गरेको सहकारीका सञ्चालकहरूको भनाइ छ ।
केही समयअघि विभागले गरेको अध्ययनमा ४५ प्रतिशतले दोहोरो सदस्यता लिएको पाइएको थियो । विभागले काभ्रे, दोलखालगायत विभिन्न जिल्लामा मर्जर भएका सहकारीको सदस्यता अध्ययन गरी सदस्यतामा दोहोरोपनाबारे तथ्यांक निकालेको हो ।
विभागको तथ्यांकअनुसार ०७४ फागुनसम्ममा दर्ता भएका ३३ हजार ७३७ सय सहकारीमा ६५ लाख सर्वसाधारण आबद्ध छन्, जसमा ३१ लाख २२ हजार महिला र २९ लाख ९७ हजार पुरुष सदस्य रहेका छन् ।