कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
428

नेपाल सरकारले नयाँ वर्षको आगमनसँगै ल्याएको हरेक नेपालीको बैंक खाता सफल बनाउन नेपाल बैंकले अघि बढाएको प्रयासको फलस्वरूप विगत साढे २ महिनाको अवधिमा २३९८५ समृद्धि बचत खाता खुलेका छन् । नेपालमा ८२ वर्ष अघिबाट संस्थागत बैंकिङमार्फत सर्वसाधारणलाई बचत, कर्जालगायतका आधारभूत बैंकिङ अभ्यासमा संलग्न गराई देशमा बैंकिङ विकासको आधारशिला तयार गरेको नेपाल बैंक लिमिटेडले हरेक नेपालीको बैंक खाता अभियानलाई सफल बनाउन वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई एक महत्वपूर्र्ण अभियानका रूपमा अगाडि बढाइरहेको जनाएको छ ।
यस सिलसिलामा नेपाल बैंकले सातै प्रदेशका विभिन्न स्थानमा गाउँ–गाउँमा घरदैलो कार्यक्रम सञ्चालन गरी सर्वसाधारण जनतालाई बचतको महत्वबारे बुझाई उनीहरूलाई बैंक खाता खोल्न उत्प्रेरित गरिरहेको छ । यस क्रममा प्रदेश नम्बर ५ का रोल्पा घर्तीगाउँलगायत विभिन्न २५ स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न भई सर्वाधिक १२६७४ समृद्धि बचत खाता खुलेका छन् ।
प्रदेश नम्बर २ मा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसलगायत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भई ४१९८ बचत खाता खुलेका छन् । प्रदेश नम्बर १ का २६ वटा शाखाबाट विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भई ३९४२ समृद्धि बचत खाता खुलेका छन् भने गण्डकी प्रदेशमा कुश्मा नगरपालिका–१३ को खौलालांकुरीलगायत विभिन्न स्थानमा वित्तीय जानकारीसहित घरदैलो कार्यक्रम सम्पन्न भई ९३९ समृिद्ध बचत खाता खुलेको बैंकले जनाएको छ ।