कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
409

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन–२०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।
सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मंगलबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरूलाई उद्यमी बनाउन सकिने र युवाहरूलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सोही अवसरमा सम्मेलन मूल आयोजक समितिका संयोजकसमेत रहेका विशाल गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासँग छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरूबीच छलफलको वातावरण निर्माण गर्ने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरूका सफलताका कथाहरू आदान–प्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने विश्वास व्यक्त गरे ।