कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
486

गैरआवासीय नेपालीहरूको समूहद्वारा प्रवद्र्धित सानिमा लाइफ इन्स्योरेन्सले मुख्य ११ वटा घातक रोगको स्वास्थ्य सुरक्षा बिमा योजना जनसमक्ष ल्याएको छ । योजनाअन्तर्गत बिमा प्रस्तावकले निर्धारित बिमा शुल्क तिरी घातक रोग सुरक्षाका लागि बिमा गर्न सकिने भन्दै कम्पनीले बिमित घातक रोगबाट पीडित भएको प्रमाणित भएमा सर्तहरूको परिधिभित्र रही मूल बिमांकको आधारमा ५० लाख रुपैयाँसम्म बिमा सुविधा एकमुष्ट प्रदान गरिने जनाएको छ ।
कम्पनीले जन समक्ष प्रस्तुत गरेको घातक रोग रक्षावरण योजनाबाट जीवन सुरक्षाका लागि अधिकतम लाभ लिन सकिने भन्दै रक्षावरण गरिएका घातक रोगहरूमा कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौला बिफलता, निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, मुख्य अंग-बोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, प्राइमरी पलमोनरी आटिरिअल हाइपरटेन्सन, कडा प्रकृतिको प्रथम हृदयघात, स्थायी प्रकृतिको मष्तिष्क घात, विशेष कडा प्रकृतिको कोमा, एओर्टा ग्राफ्ट शल्यक्रिया तथा कोरोनरी धमनी बाइपास ग्राफ्ट रहेको जनाएको छ ।
योजनाका घातक रोग बिमा सुविधा ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म, प्रवेश उमेर १८ वर्षदेखि ५५ वर्षसम्म, बिमा अवधि ५ वर्षदेखि २५ वर्षसम्म तथा अधिकतम बिमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्म रहेको भन्दै कम्पनीले विकासक्रमसँगै मानिसहरूको खानपानमा आएको परिवर्तन र व्यस्त जीवनशैली तथा प्रदूषित वातावरणले मानव स्वास्थ्यमा गम्भीर किसिमको प्रतिकूल प्रभाव पर्ने काराण न्यून आर्थिक स्थिति र कुपोषण युक्त खानपानले मानिसहरू घातक रोगहरूबाट अझ बढी पीडित भएकाले यस योजनाबाट लाभ पाउने सकिने पनि जनाएको छ ।