कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
476

विराटनगर- सप्तकोसी विकास बैंक र कावेली विकास बैंकबीच मर्जर भएको छ । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी र धनकुटा केन्द्रीय कार्यालय रहेको कावेलीबीच मर्जरको प्रक्रिया पूरा भई आइतबारदेखि संयुक्त कारोबार सुरू भएको छ । विराटनगरमा औपचारिक कार्यक्रम आयोजना गरी दुवै बैंकको संयुक्त कारोबार सुरु भएको हो ।
मर्जरको भावनाअनुसार कावेली विकास बैंकको दर्ता नम्बर हुने र सप्तकोसी बैंक नाम रहने गरी मर्जर प्रक्रिया सम्पन्न गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । “मर्जर भन्ने तर, एक्युजिसन जस्तो गर्ने प्रवृत्तिलाई तोड्दै कावेली र सप्तकोसीले दुवै बैंकको गरिमा रहने गरी मर्जर प्रक्रिया सम्पन्न गरेका छौं,” कार्यक्रममा सप्तकोसी विकास बैंकका अध्यक्ष तारानाथ निरौलाले भने । सप्तकोसी विकास बैंकका कार्यकारी अधिकृत नविन सुवेदीले हाल ७८ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी १ अर्ब २० करोड पु¥याएर प्रदेशस्तरीय बैंकमा रूपान्तर हुने योजना रहेको बताए ।

“चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पु¥याएर प्रदेशस्तरको विकास बैंक बन्ने योजना छ,” सुवेदीले भने, “बैंकको हाल शाखा संख्या २७ पुगेको छ ।” ७ जिल्ला कार्यक्षत्र रहेको बैंकको करिब ९० हजार निक्षप सदस्य र साढे ५ हजार संख्यामा ऋण सुविधा लिने ग्राहक छन् । बैंकले आगामि वर्षभित्र १२ शाखा थप गर्ने योजना पनि बनाएको सुवेदीले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रबैंकका कायममुकायम निर्देशक ईश्वरकुमार कटुवालले राष्ट्रबैंकको मर्जर र एक्युजिसनको नीतिले बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गएको बताए । कार्यक्रममा प्रदेश–१ का कार्यबाहक मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव सुरेश अधिकारी, उद्योग संगठन मोरङका कार्यबाहक अध्यक्ष सुयस प्याकुरेललगायतले बैंकिङ सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।