कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
2030

• ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सहमति
• प्राइमले कैलाश विकास बैंक प्राप्ति गर्ने

नेपाल राष्ट्र बैंकले बैंकको संख्या घटाउन दिएको अनौपचारिक दबाबको नतिजास्वरूप शुक्रबार ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरे भने प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धमा हस्ताक्षर गरेका छन् ।ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले शुक्रबार मर्जरको लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशबहादुर रायमाझीले मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने तथा सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउने बैंकले जनाएको छ । साथै, सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँचजना र जनता बैंकबाट दुई जना  रहनेछन् । यसैगरी प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ ।यस्तै, कमलपोखरी काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३२, न्यूप्लाजास्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धमा शुक्रबार एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरे ।बैंकले यसअघि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । कैलाश विकास बैंक, कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुनेछ । बिहीबारसम्म आधा दर्जनभन्दा धेरै बैंकले आफूहरू मर्जरमा जान प्रतिबद्ध रहेको लिखित जानकारी केन्द्रीय बैंकलार्ई गराएका थिए भने शुक्रबारै ३ वाणिज्य बैंक तथा एक विकास बैंकले मर्जर तथा एक्विजिसन गर्ने सम्बन्धमा हस्ताक्षर गरेको हुन् । राष्ट्र बैंकका गभर्नरले १५ दिनको समयमा दिएर मौद्रिक नीति आउनुअघि मर्जरमा जाने निश्चित गरेर केन्द्रीय बैंकलार्ई जानकारी गराउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुरूप नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले केन्द्रीय बैंकलाई लिखित प्रतिबद्धता बुझाएका थिए । राष्ट्र बैंकले अहिले २८ को संख्यामा रहेका बैंकहरूको संख्या घटाएर १४ सम्म झार्न खोजेको छ । केन्द्रीय बैंकलाई प्रतिबद्धता बुझाउने बैंकहरूले पार्टनर खोजिरहेको र छलफलहरू भइरहेको तथा मर्जरका लागि कमिटी गठन गरेर विभिन्न चरणमा छलफल गरेको जानकारी दिएका थिए । तर, मर्जरमा जानका लागि बैंकहरूले भने सहुलियतको अपेक्षा गरेका छन् ।