कारोबार संवाददाता
आइतवार, असार १, २०७६
1614

“कानुनी व्यवस्था पालन गरेर सहकारी सञ्चालन गर्न सकिँदैन भन्ने लाग्छ भने कम्पनीमा जान सकिन्छ ।”

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण सचिव गोपीनाथ मैनालीले सहकारी संघसंस्थाहरूलाई सहकारी ऐन र नियमावलीका व्यवस्था पालना गर्न निर्देशन दिएका छन् । ऐन तथा नियमावलीका व्यवस्था अव्यवहारिक भएको भन्दै सुधार गर्न लविङ गरिरहेका सहकारीकर्मीलाई उनले सहकारी ऐनअनुसार संस्था सञ्चालन गर्न नसक्नेलाई अन्य क्षेत्रतिर लाग्न विकल्प रहेको बताए ।
“सहकारी क्षेत्रमा देखिएका विकृत्ती विसंगतिलाई नियन्त्रण गर्न ऐन तथा नियमावलीमा स्पष्ट व्यवस्था गरिएका छन्,” जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरद्वारा धुलिखेलमा शनिबार आयोजित दोस्रो बहुउद्देश्यीय सहकारी सम्मेलनमा बोल्दै सचिव मैनालीले भने, “कानुनी व्यवस्था पालन गरेर सहकारी सञ्चालन गर्न सकिँदैन भन्ने लाग्छ भने कम्पनीमा जान सकिन्छ ।” ऐनको व्यवस्थाका कारण सहकारी संस्थाले लाभांश बाड्न नसक्ने अवस्था आउने गुनासो गरेपछि उनले निजी क्षेत्रमा जस्तो नाफा र प्रतिफल नखोज्नसमेत आग्रह गरे ।

सहकारी ऐनमा बहुउद्देश्यीय सहकारी संस्थाहरूले आफ्नो कुल कारोबारको ७० प्रतिशत बहुउद्देश्यीय क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । यो व्यवस्थाका कारण बचत तथा ऋण कारोबारमा मात्र केन्द्रीत भएका बहुउद्देश्यीय सहकारीहरूलाई समस्या पर्ने भएको छ । सम्मेलनमा सहभागीहरूले सरकारले बहुउद्देश्यीय सहकारी बन्द गराउने उद्देश्यसहित ऐन नियमावी ल्याएको गुनासो गरेपछि आक्रोसित रूपमा प्रस्तुत भएका मैनालीले सहकारीकर्मीकै कारण सहकारी बन्द हुने अवस्था आउने बताए ।
“सरकारले सहकारी बन्द गर्न होइन प्रवद्र्धन गर्न चाहेको छ,” मैनालीले भने, “सहकारी बन्द भयो भने तपाईंहरूकै कारणबाट हुन्छ ।” बहुउद्देश्यीय सहकारीलाई बहुउद्देश्यीय क्षेत्रका काम गर्न तथा काम नगरेमा उद्देश्य परिवर्तन गर्न उनले निर्देशन दिए ।
सचिव मैनालीले बहुउद्देश्यीय सहकारीहरूले उत्पादनलगायतका क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था गरेको र सोहीअनुसार अघि बढ्न आग्रह गरे । स्थानीय सम्भावना र सदस्यको आवश्यताका आधारमा उत्पादनमूलक काम गर्न सकिनेसमेत उनले स्पष्ट पारे ।
यसैगरी सम्मेलनमा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडलले एकीकरणमार्फत घटाउन नसके सहकारी अभियान धराशायी हुने बताए । अहिले सहकारी अभियानले राजनीतिक पार्टीलाई जिताउन हराउने काममा लागेकाले सहकारीको व्यावसायिक विकास हुन नसकेको भन्दै सहकारी संस्थाहरू संस्थागत सुशासन, सदस्य सन्तुष्टी, प्रविधि भित्राउन र पूँजी परिचालनका विषयमा केन्द्रित हुनुपर्ने बेला आएको उल्लेख गरे ।
नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी अभियानका नेतृत्वकर्ता अर्कालाई सिध्याउने हिसाबले अघि बढेको आरोप लगाए । सहकारी अभियानका विभिन्न छाता संगठनहरूको फरकफरक धारणाका कारण अभियानले चाहेजस्तो ऐन तथा नियमावली आउन नसकेको उनले प्रष्ट पारे । सहकारी ऐन नियमले बहुउद्देश्यीय सहकारीलाई संकुचित बनाउन खोजेको भन्दै उनले एकल वा संयुक्त रूपमा शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषि क्षेत्रमा सहकारीहरूले लगानी गर्न आग्रह गरे ।
समिटमा नयाँ सहकारी ऐन र नियमावली आएपछि बहुउद्देश्यीय सहकारी संस्था कसरी अगाडी बढाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले बहुउद्देश्यीय सहकारी संस्थाहरूले लगानी गर्नका लागि स्पष्ट वातावरण बनाउन माग गरेको संघका अध्यक्ष शरदकुमार महर्जनले जानकारी दिए ।