कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
283

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित मैवाखोला माविका प्रधानाध्यापक पहलमान चोङवाङ गाउँपालिकामै सनराइज बैंक स्थापना हुँदा निकै खुसी भएका थिए । अझ गतवर्ष विद्यालयको आर्थिक कारोबारसमेत गर्न पाउँदा उनको खुसीको सिमा झनै चुलिएको थियो । तर वर्षदिन नपुग्दै कारोबारका लागि सदरमुकाम धाउनुपर्ने समस्याले उनी पिरोलिएका छन् ।
गाउँपालिकाले बैंकले सुविधा दिन नसकेको वहाना बनाएको छ । गाउँपालिकाले समेत सदरमुकामस्थित नेपाल बैंकमा कारोबार गर्छ । घरनजिकबाट पाउँदै आएको सुविधा उपभोग गर्नबाट सिंगो गाउँपालिकासँग जोडिएको आर्थिक कारोबार गर्न सेवाग्राही सदरमुकाम धाउनुपर्ने बाध्यता बनेको छ ।
स्थानीय चिरञ्जी चोङवाङका अनुसार उपभोक्ता समितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्षमा प्रायः कोही पनि बस्न चाहँदैनन् । किनकी खाता खोल्नदेखि भुक्तानी लिन सदरमुकाम नै धाउनुपर्छ । चोङवाङले भने, “समय र खर्च हुन्छ । कागजात छुटे वा हस्ताक्षर विग्रिए समस्यामाथि समस्या थपिने डरले स्थानीयको अरुची पाइएको छ ।” बैंक र गाउँपालिकाबीचको आन्तरिक समस्याको सजायको भागिदार स्थानीयबासी भएका छन् ।
गाउँपालिका–३ साँघुमा गाउँपालिकाको कार्यालय भवन छ । भवनको पुछार तलामा सनराइज बैंक छ । बैंकले गाउँपालिकालाई कर वाहेक मासिक १० हजार रूपैयाँ भाडा तिर्दै आएको छ । जिल्लाको स्थानीय तहमा सबैभन्दा पहिला स्थापना भएको बैंक पनि हो यो । माथिल्लो तलामा गाउँपालिकाको कार्यालय छ । गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ, उपाध्यक्ष कौशिला थत्लुङ लिम्बूदेखि कार्यपालिका सदस्य र विभागीय शाखाका प्रमुखहरू समेत यही भवनवाट सेवा प्रवाह गर्छन् । तर गाउँपालिकाले आफ्नै भवनमा भएको बैंकसँग करोबार गरेको छैन । यो आर्थिक वर्षमा एक रूपैयाँको पनि कारोवार नभएको र उपभोत्ताले खातानै नखोलेको बैंकका प्रवन्धक सुरज श्रेष्ठले वताए । गाउँपालिकाको चालू आर्थिक वर्ष २०७५÷७६ को बजेट भने २३ करोड ९९ लाख १४ हजार ७ सय रूपैयाँ छ ।
गाउँपालिका कार्यालयसँगै सटिएको छ मैवाखोला उच्च माध्यमिक विद्यालय । यो विद्यालयमा २६ जना शिक्षक कार्यरत छन् । गाउँपालिकाले उनीहरूको तलव बैंक खातामा जम्मा गरिदिन्छ । तर सँगै रहेको भवनबाट पैसा निकाल्न पाउँदैनन । प्रधानाध्यापकले अरु शिक्षकको खातामा पैसा लगाइदिन सदरमुकाममै पुग्नुपर्छ । पाठ्यपुस्तक, छात्रवृत्तिको रकमका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । सदरमुकामवाट झोलामा पैसा बोकेर गाउँ फर्किनुपर्छ । प्रधानाध्यापक पहलमान चोङवाङ गाउँमा सुविधा आएर पनि उपयोग गर्न नपाएकोमा असन्तुष्ट छन् । नले भने, “मेरो व्यक्तिगत लाखौं रूपैयाँको कारोबार यही (सनराइज) बैंकबाट गरिरहेको छु । तर गाउँपालिकाको कारोबार गर्न सदरमुकाम धाउनुपर्दा पीडा भएको छ ।”
साङादिकी, मुलपानी प्राविको पाठ्यसामग्री तथा शैक्षिक सामग्रीका लागि छुट्याइएको १२ हजार ५ सय उपभोक्ताले खाता सञ्चालनका लागि सदरमुकाम धाउनुपर्छ । जवकी अध्यक्ष, कोषाध्यक्षलगायतका खाता सञ्चालकले सदरमुकाम आएर फर्कदा गाडी भाडा, खाना, होटलवासमा झन्डै यतिनै रकम खर्च हुन्छ । चेकमा दस्तखत नमिल्ने जस्ता झन्झटका कारण आर्थिक कारोबारमा खाता सञ्चालकहरूनै हिँड्ने गरेका छन् ।
गाउँपालिका अध्यक्ष थत्लुङले गत आर्थिक वर्षको अन्त्यमा बैंकले भुत्तानी गर्न नसकेकाले योवर्ष कारोबार नगरेको बताए । “गत आर्थिक वर्षमा उहाँहरूले ठूलो रकम भुक्तानी दिन सक्नुभएन,” उनले भने, “उपभोक्ताले तेह्रथुमसम्म पुग्नुप¥यो । यद्यपी अव गर्नुपर्छ की भन्ने मनस्थितिमा छौं ।” बैंकका म्यानेजर श्रेष्ठ यो वर्ष आफू जति पनि रकम भुक्तानी गर्न सक्ने दाबी गर्छन् । “नियमानुसार एक पटकमा ९ लाख ९९ हजार ९ सय ९९ रूपैयाँ भुत्तानी हुन्छ,” उनले भने, “त्यो रकम अहिलेसम्म कसैको रोकेका छैनौं र रोकिँदैन पनि ।” भुक्तानी दिन सक्दैन भन्नु नजिकको तीर्थ सवैको हेला भनेझै भएको स्थानियवासी बताउँछन् ।
गतवर्ष तमोर नदीमाथी पुल नबनेकाले बसन्तपुरको सडक बिग्रिएपछि आर्थिक वर्षको अन्त्यमा केही समस्या भएको बैंकले स्वीकार गरेको छ । यो वर्ष गाउँपालिका दुइतिरवाट सडकले जोडिएको र एक वर्षको अनुभव पनि हाँसिल गरिसकेकाले समस्या नहुने बैंकको दाबी छ । जिल्लाका अरु सबै स्थानीय तहले आफ्नै गाउँपालिकामा रहेको बैंकबाट कारोबार गरिरहेका छन । फक्ताङलुङमा जनता, पाथीभरा याङवरक र सिदिङवामा लक्ष्मी बैंक, सिरिजंघामा नेपाल बैंक र आठराइ त्रिवेणीमा राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेका छन् । सदरमुकाममा रहेको फुङलिङ नगरपालिकाले नेपाल बैंकमा कारोबार गर्ने गरेको छ ।

दुई गाउँपालिकामा बैंक पुग्न बाँकी
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दुईवटा गाउँपालिकामा अझै बैंक स्थापना भएको छैन । कुनै बैंकले आउने प्रस्तावसम्म पनि गरेका छैनन् । मेरिङदेन र मिक्वाखोला गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना नभएको हो । मिक्वाखोलाको केन्द्रनै निश्चित नभएकाले पनि बैंकका लागि पहल भएको थिएन । सरकारले यो वर्ष भने थुङलुङमा केन्द्र निर्धारण गरिसकेको छ । मेरिङदेनमा गाउँपालिका नयाँ स्थानमा रहेको संरचना नभएको र प्रहरी चौकी पनि नभएकाले बैंकले जाने चाहना गरेका छैनन । गाउँमा बैंक नहुँदा यहाँका उपभोत्ताले सदरमुकाम धाएर कारोबार गरिरहेका छन् ।

देवराज गुरुङ