कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
725

नबिल बैंकले आफ्नो लक्ष्य ‘पहिलो रोजाइको सम्पूर्ण वित्तीय सेवाप्रदायक’ अनुरूप नेपालको पुँजीबजारमा सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजनाहरू सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा ‘नबिल म्युचुअल फण्ड’ दर्ता गराएको छ । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङले योजना व्यवस्थापक तथा डिपोजिटरीको रूपमा नबिल म्युचुअल फन्डको पहिलो योजना नबिल ब्यालेन्स फन्ड १ मा सेवा प्रदान गर्दै आएको भन्दै नबिल इन्भेस्ट आफ्नो स्थापनाको छोटो अवधिमै एक अग्रणी मर्चेन्ट बैंकरका रूपमा स्थापित हुन सफल भएको पनि जनाएको छ ।
नबिल ब्यालेन्स फन्ड १ को सफलतापूर्वक सम्पन्न भएपश्चात् नबिल म्युचुअल फन्डले आफ्नो तेस्रो योजना नबिल ब्यालेन्स फन्ड–२ ल्याएको छ । यो एक बन्दमुखी योजना हो जसको आकार १ अर्ब २० करोड रुपैयाँ र अवधि १० वर्षको छ ।

यस योजनाको उद्देश्य प्रचलित सामूहिक लगानीकोष नियमावलीे एवं निर्देशिकाको अधिनमा रही एकाइ बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरूमा जोखिम न्यूनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएकोे मुनाफा एकाइ धनीहरूलाई वितरण गर्नु रहेको छ ।
यस योजनाको एकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाइनेछ, जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म एकाइहरू दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने जनाएको छ ।