कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
561

ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अझ सुदृढ गराउन लिएको मर्जर तथा एक्विजिसन नीतिलाई आत्मसात गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोबारसमेत वृद्धि गर्नका लागि हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सहमतिपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट मर्जर तथा एक्विजिसन समिति सदस्य सुदर्शन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनीको मर्जर तथा एक्विजिसन समिति सदस्य नवराज नेपालले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिसन) गर्ने कार्य ३ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाथवे फाइनान्स कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एन्ड ट्रस्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाइनान्ससँग सफल मर्जर गरिसकेको छ ।