कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
715

लककडाउनको अवधिमा मोटर बिमाको प्रिमियम छुट हुने भएको छ । बिमा समितिले मंगलबार निर्देशन जारी गर्दै चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनले गर्दा अधिकांश सवारी साधन थन्किएको भन्दै बिमितहरूलाई प्रिमियममा राहत दिने घोषणा गरेको छ ।
समितिको निर्देशनमा लकडाउनले अधिकांश सवारी साधन थन्किएको र केही सवारी साधन आंशिक रूपमा र अति न्यून मात्रै चलेको अवस्थामा जोखिम पनि न्यून भएकाले बिमा प्रिमियमा राहत दिन लागेको उल्लेख छ ।

समितिले निर्जीवन बिमा कम्पनीलाई सवारी साधन प्रयोगमा नरहेको मिति २०७६ चैत ११ गतेदेखि लिएर सरकारले लकडाउन नहटाएको समयसम्म सवारी नचलेको मिति कायम गरी बिमा प्रिमियम छुट दिन निर्देशन दिएको छ । यस्तै अत्यवाश्यक सवारी साधनको हकमा भने नेपाल सरकारले सूचना जारी गरेर सवारी साधन सञ्चालन अनुमति दिएको अवधिसम्मका लागि थन्किएको अवधि कायम गरी प्रिमियम छुट दिन निर्देशन दिएको छ ।
बिमा प्रिमियम छुट दिँदा सवारी साधनको वार्षिक बिमा शुल्कको एकतिहाई रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गर्न समितिले निर्देशन दिएको छ । यस्तै बाँकी रहेको दुई तिहाई प्रिमयमबाट कति दिन लकडाउन हुन्छ त्यसको आधारमा प्रिमियम छुट दिन निर्देशन दिइएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।