कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
334

नेपालकै सबैभन्दा ठूलो व्यावसायिक कम्पनी सिप्रदी ट्रेडिङ प्रालिद्वारा नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । होटल अन्नपूर्णमा आयोजित एक विशेष कार्यक्रमका बीच मिसेलीन टायरहरू नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पी र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रूपमा मिसेलिनका लोगो र उत्पादनहरू सार्वजनिक गरे । सन् १८८९ मा स्थापना गरिएको मिसेलिनका टायरहरू एक सय सत्तरी देशहरूमा उपलब्ध छ र विश्वभर नै ६९ वटा उत्पादन केन्द्रहरू रहेका छन् । नवीनता तथा दिगो विकासको नेतृत्वकर्ता मिसेलिनको तीनवटा उत्पादन रेन्जहरू (कमर्सियल, प्यासेन्जर तथा टु–ह्वीलर सेग्मेण्टहरू) नेपाली बजारमा उपलब्ध छ ।

सिप्रदीले सन् २०१६ मा मिसेलिनलाई आफ्नो कम्पनी पोर्टफोलियोमा समावेश गरेको थियो । त्यसयता सडकको अवस्थाअनुसार ग्राहकका निश्चित आवश्यकताअनुसारका टायरहरू आपूर्ति गर्न नेपाली सडकहरूमा व्यापक र गहन अध्ययन गरिरहेको छ । अहिले अनुभव र ज्ञानको मिश्रण मिसेलिन टायरहरूका साथमा उपभोक्ताहरूले सुरक्षित र प्राविधिक अत्याधुनिक टायरहरू अनुभव गर्न सक्छन् ।
सो कार्यक्रममा मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पीले भने, “सिप्रदीमार्फत् नेपाली बजारमा मिसेलिन टायरहरू सार्वजनिक गरेर नेपालमा आफ्नो बजारको विस्तार गर्न पाएर हामी एकदम खुसी छौँ । मिसेलिनका उत्पादनहरूले एकदम राम्रो प्रतिक्रिया पाइरहेका छन् । त्यसैलै हामीले यहाँको लागि भनेर हाम्रो विज्ञ टोलीले गरेको विस्तृत अध्ययन पश्चात् तीनवटा फरक सेग्मेण्टहरू अन्तर्गत सार्वजनिक गरेका छौँ । मिसेलिनका टायरहरू टिकाउ हुनुका साथै मिसेलिनले हवाईजहाज, अटोमोबाइल्स, साइकल, अर्थमुभर, कृषि उत्पादनका लागि प्रयोग हुने गाडीहरू, हेभी ड्युटी ट्रकहरू र मोटरसाइकलहरूका जस्ता हरेकखाले यातायातका साधनहरूका लागि हुने टायरहरू डिजाइन गर्ने र उत्पादन तथा बिक्री गर्ने गर्छ ।”
मिसेलिनको आधिकारिक ब्रान्ड लोगोका साथै मिसेलिनका उत्पादन रेन्जहरू सार्वजनिक गर्दै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “सबै सेग्मेण्टहरूमा ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो लक्ष्यका साथमा विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन टायर्ससँग आफ्नो साझेदारी बिस्तार गर्न पाउँदा हामी हर्षित भएका छौँ ।” मिसेलिनका उत्पादनहरू बजारमा सजिलै उपलब्ध होस् भन्नका लागि काठमाडौँ र बुटवलमा एक्सक्लुसिभ शोरूमहरूसहित डिलरहरूको बलियो संजाल विकसित गरिएको कम्पनीले जनाएको छ ।