एजेन्सी
सोमवार, बैशाख २, २०७६
567

हङकङ-घर खरिदको मामिलामा हङकङ विश्वकै महँगो सहर भएको नयाँ अनुसन्धानले देखाएको छ ।
रियल इस्टेट फर्म सीबीआरईले हालै प्रकाशित गरेको ग्लोबल लिभिङ रिपोर्टले विश्वका ३५ सहरमा सम्पत्ति बजार विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो ।

विश्वकै महँगा सम्पत्ति बजारमा एसियाको वर्चस्व छ । हङकङका घर पाँचौ वर्षमा लगातार विश्वकै महँगा भएका छन् । दोस्रोमा सिंगापुर परेको छ भने तेस्रोमा सांघाई छ ।
यो वर्ष हङकङको घरको औसत मूल्य १२ लाख डलर रहेको रिपोर्टले देखाएको छ । उच्च माग र थोरै आपूर्तिका कारण सम्पत्तिको मूल्य पछिल्ला वर्षहरूमा किन्न नसकिने अवस्थामा पुगेका छन् । यो क्षेत्रले घर अभावको संकटसँग जुभ्mनका लागि ८० अर्ब डलरको कृत्रिम टापु बनाउने योजना बनाएको छ ।
चिनियाँ सहरहरू सेनझेन र बेइजिङ पनि घर खरिदको मामिलामा सर्वाधिक महँगा सहरको उत्कृष्ट १० मा पर्न सफल भएका छन् । यी सहरहरू क्रमशः पाँचौं र नवौं महँगा सहर भएका छन् ।
भ्यानकुभर घर खरिदको मामिलामा विश्वकै चौथो महँगो सहर भएको छ । यो उत्तर अमेरिकी महादेशकै महँगो सहर हो । यहाँ औसत घरको मूल्य ८ लाख १५ हजार ३ सय २२ डलर पर्छ । लसएन्जलस र न्युयोर्क पनि शीर्ष १० मा पर्न सफल भएका छन् ।
लन्डन आठौं महँगो सहर भएको छ । यो युरोपकै महँगो सहर भएको सीबीआरईले जनाएको छ । यो सहरमा औसत घरको मूल्य ६ लाख ४६ हजार ९ सय ७३ डलर पर्छ । बेइजिङ आठौं र पेरिस दसौं महँगा सहर भएका छन् ।
आवासीय घर खरिदको मामिलामा सस्तो सहरमा इस्तानबुल, हो चि मिन्ह सिटी र बैंकक रहेका छन् ।
यसैबीच बार्सिलोना, डब्लिन र सांघाईका घरको मूल्यमा तीव्र वृद्धि भएको सीबीआरईले जनाएको छ ।
भाडा बजारको मामिलामा भने न्युयोर्क विश्वकै महँगो सहर भएको छ । यो सहरको औसत मासिक भाडा २ हजार ८ सय ४४ डलर छ ।
भाडाको मामिलामा अघिल्लो वर्ष दुबई र हङकङ सर्वाधिक महँगा थिए । दुवैको औसत मासिक भाडा २ हजार ७ सय डलर थियो ।