भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बुधबार भारत प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो ।
यो समयमा भारतका पटना, बनारस, लखनउलगायतका क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले भारतीय पर्यटकलाई अहिले पोखरा घुम्न उपयुक्त समय छ भन्ने सन्देश दिने मुख्य उद्देश्य रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए । “पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ, गर्मीको समयमा शीतल, स्वच्छ वातावरणसहित हिमाली एवं पहाडी दृश्यावलोकनका लागि आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचार–प्रसार गरिनेछ,” उनले भने, “विगत छ वर्षयता सञ्चालन गरिएको कार्यक्रमले भारतीय पर्यटक आउनेक्रममा वृद्धि भएको छ ।”
‘चलिए पोखरा’ कार्यक्रमले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको भन्दै पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिएको बताउँछन् । हालै पोखराको पर्यटकको अवस्थालाई दृष्टिगत गर्दा कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको उनले जानकारी दिए । पाँचदिने भ्रमण कार्यक्रमका क्रममा लखनउ, पटना, वनारसलगायतका ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरिने होटल संघका सचिव गणेश पहारीले बताए ।