फेवाताल संरक्षणमा अर्ब बढी बजेट आवश्यक
दीननाथ बराल
बुधवार, असार २७, २०७५
118

डेढ करोड बजेटले ९ स्थानमा गल्छी, पहिरो र १० ठाउँमा भूस्खलन रोकथाम

पोखरा-पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल प्राकृतिक र मानव अतिक्रमणले गर्दा यसको समयमै संरक्षण र संबद्र्धन गर्न नसक्दा हरेक वर्ष फेवातालको आयु घट्दै गएका विज्ञहरूले सुझाव दिँदै आएका छन् । फेवातालको जुन रूपमा स्थानीय निकायसहित सरोकारवाला पक्षले संरक्षणमा ध्यान दिनुपर्ने हो सोही अनुरूप संरक्षण नहुँदा फेवातालको आयु हरेक वर्ष घट्दै गएको प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले बताउँदै आएका छन् । समयमै फेवाताल संरक्षण नहँुदा तालको आकार साँघुरिंदै र गहिराई कम हुँदै प्रदूषित भएको उनले जनाए । 
फेवातालको सही ढंगले संरक्षण गर्न कम्तीमा एक वर्ष अघि लगानी आवश्यक भएको जिल्ला भू–संरक्षण कार्यालय कास्कीका प्रमुख डम्मरबहादुर थापाले बताए । उनले भने, “फेवाताल संरक्षणको निम्ति कम्तीमा १०-१५ वर्षको कार्ययोजना आवश्यक पर्छ, पहिलो चरणमा करिब एक वर्ष रुपैयाँ ताल संरक्षणमा खर्च गर्न सके पहिलाकै अबस्थामा केही भाग ल्यान सकिन्छ ।” २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल हाल १० हजार रोपनी क्षेत्रफलमा रहेकोले यसको संरक्षण गर्न तालको जलाधार क्षेत्र घोषणा गरी तालको सिरान भागदेखि तल्लो तटिय क्षेत्रसम्म योजनाबद्ध ढंगले काम गर्नु प्रमुख थापाको भनाईछ । फेवाताल रामसारमा सूचीकृत भएकाले यसको संरक्षणमा राज्यको अझ बढी जिम्मेवार हुने उनले बताए । फेवाताल जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्नुपर्ने उनको माग छ ।
कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा १ करोड ५० लाख मूल्य बराबरको फेवाताल संरक्षणमा केही काम गरेको प्रमुख थापाले जनाए । उनका अनुसार ९ स्थानमा गल्छी पहिरो र १० ठाउँमा भूस्खलन रोकथाममा बढी लगानी भएको हो । अधेंरीखोला सहितका अन्य १० वटा स्थानमा हरित प्रविधिमार्फत भूस्खलन रोकथाम नदी प्रणालीमा १ करोड रुपैयाँ खर्च भएको प्रमुख थापाले जनाए । फेवातालमा सिधै आउने खहरे खोला र पहिरो नियन्त्रणका लागि ९ वटा स्थानमा गल्छी पहिरो नियन्त्रण गर्दा ४५ लाख खर्च भएको प्रमुख थापाले बताए ।
त्यसैगरी स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा ५० हजार, संरक्षण समूह पहिचान र सशक्तीकरणका लागि ५० हजार, प्रतिवेदन तयार तथा पाश्र्वचित्र प्रकाशनमा ५० हजार, फेवाताल जलाधार क्षेत्र घोषणा विशेष कार्यक्रमका लागि ३ लाख ५० हजार खर्च भएको कार्यालयले जनाएको छ ।
फेवाताल संरक्षणका लागि चेकड्याम तथा खोला नियन्त्रणअन्तर्गत पोखरा लेखनाथ २३ ठूलाखेत, पोखरा लेखनाथकै माझथुम, पोखरा लेखनाथ २३ को भासिनटारी, पोखरा लेखनाथ १८ भकुण्डेमा, पोखरा लेखनाथ २२ भूमे प्रावि, पोखरा लेखनाथ २२ लुकुन्श्वाँरा, अन्नपूर्ण गाउँपालिकाको २ मा पहिरेखोला सिल्टेसन ड्याम भएको छ । त्यसैगरी पोखरा लेखनाथ २३ रातामाटा, पोखरा लेखनाथ २३ कै शान्तेखोला, पोखरा लेखनाथ २२ शान्ति स्तुपा, फेवाताल जलधार क्षेत्रमा तारजाली वितरण पोखरा लेखनाथ २३ चनौटे, पोखरा लेखनाथ २४ कार्कीको टहरा बस्ती, पोखरा लेखनाथ २३ धारापानी साइड ड्याम, पोखरा लेखनाथ २३ को अटलेको थुम्को, अन्नपूर्ण गाँउपालिका २ को पहिरे खोला, अन्नपूर्ण १ को जन्मजय ढुंगा, अन्नपूर्ण १ कै मिलन ढुंगा, पोखरा लेखनाथ २३ धारापानी ग्रिन वेल्ट, अन्नपूर्ण २ मा पहिरे खोलामा ग्रिन वेल्ट गरिएको प्रमुख थापाले बताए ।
फेवातालमा आउने मुख्य पानीका स्रोतहरू (हाडी, मार्से, सिदाने) हर्पन खोला, अधेरीखोला, सहायक स्रोतहरू, खहरे खोला, वेतनी, कान्जिरे, खपौदी, बलौदी, फिर्के,लोरेक, हर्पन खोला, अन्य साना खहरे खोलाहरू रहेका छन् । फेवाताल संरक्षणमा देखिएका प्रमुख चुनौती र समस्याहरू फेवाताल क्षेत्र अतिक्रमण, सिल्टेशन नियन्त्रण (हर्पन खोला, खहरे खोला र अन्य) फेवाताल क्षेत्रको भू–क्षय नियन्त्रण, फोहोर मैलारप्रदूषण नियन्त्रण, फेवाताल क्षेत्रको जलचरको संरक्षण, जलकुम्भी झार नियन्त्रण, गैर–रैथाने माछा पालन, फेवाताल क्षेत्रमा अवस्थित बसोबास र निर्माण कार्य, गैर वातावरण मैत्री मनोरञ्जनात्मक क्रियाकलाप, फेवातालको पानीका श्रोतहरू सुक्दै गएको, ताल वरिपरि निर्माण गरिएका ग्रामीण सडकहरू रहेको प्रमुख थापाले जनाए ।
जिल्ला भू तथा जलाधार संरक्षण समिति कास्कीलाई भू तथा जलाधार संरक्षण ऐन बमोजिम काम कर्तव्य र अधिकार तोक्ने, नेपाल सरकार (मन्त्रिपरिषद्) बाट चार किल्ला ख’ लाई संरक्षित जलाधार क्षेत्र घोषणाको लागि निर्णय हुनुपर्ने उनको माग छ ।

अल्पकालीन योजनाहरू

♠सिल्टेसन नियन्त्रण गर्न आवश्यकताअनुसार चेक ड्यामहरू निर्माण गर्ने

♠थिग्रेको माटो निकाल्ने र प्रारम्भिक थेग्रानस्थल निर्माण गर्ने

♠वृक्षरोपण एवं वनजंगल संरक्षण गर्ने

♠एकीकृत जलस्रोत तथा जलाधार व्यवस्थापनको अवधारणा अनुरुप संरक्षण कार्य सञ्चालन गर्ने

♠पानीको गुणस्तर र परिमाण सुनिश्चितता गर्ने

♠उपयुक्त क्षेत्रमा पैदल मार्ग निर्माण गर्ने

♠वातावरण मैत्री सडक निर्माण गर्ने

♠दीर्घकालीन योजना

♠फेवाताल क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने

♠फेवाताल क्षेत्रको थप विस्तार गर्ने

♠फेवातालमा पानीको सतह बढाउने

♠फेवा सिँचाइ प्रणालीलाई व्यवस्थीत गराउन’ पर्ने

♠फेवा जलविद्युत् आयोजनाको स्तर वृद्धि गर्ने

♠फेवाताल क्षेत्रमा वातावरण मैत्री मनोरञ्जनात्मक क्रियाकलापको विस्तार गर्ने

♠फेवातालबाट प्राप्त हुने राजस्वको निश्चित हिस्सा फेवाताल संरक्षणमा खर्च गर्ने

♠फेवातालको संरक्षण तथा व्यवस्थापनमा स्थानिय सहभागिता सुनिश्चित गर्ने