तातोपानीलाई पर्यटकीय स्थल बनाउन पहल
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
294

 प्रशस्त पर्यटकीय सम्भावना भएर पनी संरक्षण, व्यवस्थापन, पूर्वाधार, प्रचार–प्रसारको अभावमा ओझेलमा परेको अन्नपूर्ण गाउँपालिका १ दोवाको सेकारकुमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न पहल थालिएको छ ।
दोवाका जनप्रतिनिधि र बासिन्दाले कालीगण्डकी नदीको दायाँ किनार, पहाडको फेदीमा बेवारिसे अवस्थामा रहेको प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण र व्यवस्थान गरेर पर्यटक भित्र्याउने योजना बनाएका छन् ।
बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्डदेखि तातोपानीको मुहानसम्म सडक र पदमार्ग पु¥याउने, पोखरी बनाएर, मुहानको संरक्षण र व्यवस्थित गर्ने, शौचालय, प्रतीक्षालय बनाउन आगामी आर्थिक वर्षको योजनामा प्राथमिकता दिइएको वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताए ।
अध्यक्ष गर्बुजाले तातोपानी कुण्डलाई व्यवस्थित गर्न वडाको गौरवको योजना मानेर १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको जानकारी दिए । म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको महभिर तिप्ल्याङ खण्डको नजिकै पर्ने सेकारकुमा पाँचवटा प्राकृतिक तातोपानीका मुहान छन् ।
५० डिग्री सेल्सीयसभन्दा बढी तातोपानी निस्कने मुहानलाई स्थानीयवासीले सामान्य पोखरी बनाएर स्नान गर्दै आएका छन् । मुहानसम्म पुग्ने पदमार्ग, सडक र आवासको सुविधा छैन । तिप्ल्याङ र महभिर गाउँदेखि १५ मिनेट पैदल हिँडेपछि पुगिने तातोपानीको मुहान कालीगण्डकी नदीको कटानको जोखिममा छ ।
मुहानको तातोपानीलाई संकलन गरी स्नान गृह सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष गर्बुजाले बताए । बेनी जोमसोम सडकबाट मुहान रहेको ठाउँलाई जोड्ने झोलुङ्गे पुल निर्माणको लागि पनी पहल गरिएको छ ।
तातोपानीका मुहानलाई व्यवस्थित र प्रचार–प्रसार गर्न सकेमा मुस्ताङ जाने आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई भित्र्याएर गाउँपालिकामा आम्दानीको स्रोत बढाउन सकिने सम्भावना छ ।

 

सातामा धेरै पढिएको