दीननाथ बराल
बिहिवार, फाल्गुन ३०, २०७५
562

पोखराका २६ वटा प्याराग्लाइडिङ कम्पनाीहरूले मात्र पोखरा महानगरपालिकामा स्थानीय करसहित नवीकरण तथा दर्ता गरेका छन् । एक दिनको म्याद थपसहित हालसम्म पोखरामा रहेका ६० प्याराग्लाइडिङ कम्पनीहरूमध्य २६ वटाले मात्र स्थानीय करसहित नवीकरण तथा दर्ता गराएको पोखरा महानगरपालिकाका राजस्व शाखा प्रमुख छवि शर्माले बताए ।
उनका अनुसार सातामा १६ वटा कम्पनीले कर बुझाएका हुन भने एक दिन म्याद थप गर्दा बुधबार मात्र १० कम्पनीले करसहित नवीकरण तथा दर्ता गराएका हुन् । पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई गत बुधबारदेखि प्याराग्लाइडिङ गर्न नदिने चेतावनी दिएसँगै व्यवसायीहरूले एक साताभित्र कर तिर्नेे सहमति भएको थियो । पोखराका व्यवसायीको मागअनुसार महानगरले एक दिन बुधबार समय सीमा दिएको थियो । यद्यपि पोखरामा रहेका ६० प्याराग्लाइडिङ कम्पनीहरूमध्य ३४ वटा प्याराग्लाइडिङ कम्पानीहरूले समय सीमाभित्र करसहित नवीकरण तथा दर्ता नगराएको हुँदा उनीहरूलाई कारबाही हुने भएको राजस्व शाखा प्रमुख शर्माले बताए । कर नतिर्ने कम्पनीहरूलाई बिहीबारदेखि पोखरामा प्याराग्लाइडिङ प्रतिबन्ध गरिने भएको उनले बताए ।

माउन्टेन भ्यू–प्याराग्लाइडिङ कम्पनी, ब्लूस्काई, हिमालयन फ्रन्ट्रायर, मिसन टु हिमालयन, पिस हिमालयन, फोनिक्स, टिम फाइब, पोखरा अल्ट्रालाइट, फ्लाई निरभाना, न्यूप्यारा वल्र्ड प्याराग्लाइडिङ, हिमालयन ड्रागन, फ्लाई नेपाल, ग्रिन वाल, फ्लाइङ बुद्ध, फ्लाई जोन र मोनाल प्याराग्लाइडिङ कम्पनीले मात्र मंगलबारसम्म पोखरा महानगरपालिकामा नवीकरण तथा दर्ता गराएको राजस्व शाखा शर्माले जनाए । त्यसैगरी बुधबार माउन्टेक हक प्याराग्लाइडिङ कम्पनी, प्यारा नोभा, ओपन स्काई, फन्टएयर, हेप्पी फ्लाई, हाई फ्लाइङ, माउन्टेन ओभर, नेपाल फ्लाई, सनराइज र सराङकोट प्याराग्लाइडिङ कम्पनीले पोखरा महानगरपालिकामा करसहित नवीकरण तथा दर्ता गराएका हुन् ।
पोखराको माउन्टेन भ्यू–प्याराग्लाइडिङ एउटा कम्पनी बाहेक सबै जसोले अवैधानिक रूपमा स्थानीय कर तथा नवीकरण नै नगरी विगत ४ वर्षदेखि पोखरामा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको राजस्व शाखाका अधिकृत रोमनाथ उपाध्यायले बताए । ०७२-७३ देखि हालसम्म ४ वर्षको स्थानीय निकायलाई व्यवसायीहरूले एक मुस्ट ८६ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
पोखरामा तीन दीनमा प्याराग्लाइडिङका ४ दुर्घटनामा परी दुई विदेशी नागरिकको मृत्यु भएपछि पोखरा महानगरपालीकाले स्थानीय करको विषयमा चासो दिएसँगै व्यवसायीहरूले केही घण्टामै महानगरपालिकासँग साताभित्र कर तिर्ने गरी सहमति गरेका थिए । बिहीबारदेखि स्थानीय कर नबुझाउने प्याराग्लाइडिङ कम्पनीलाई कारबाही स्वरूप प्याराग्लाइडिङ उडान गर्न नदिने पोखरा महानगरपालिका–१८ का वडा अध्यक्ष रणबहादुर थापाले चेतावनी दिएका छन् । कम्पनीहरूले ०७२-०७३ र ०७३-७४ को बार्षिक ५ हजार ५ सय ०७४-७५ को ५० हजार र आर्थिक वर्ष ०७५-०७६ को २५ हजार गरी जम्मा ८६ हजार रुपैयाँ स्थानीय कर तिर्नुपर्छ । यस वर्षदेखि १ लाख रुपैयाँ पर्यटन शुल्कबापत प्रदेश सरकारले स्थानीय तहलाई कर संकलन गर्न आह्वान गरेको छ । यस विषयमा पछि बसेर छलफल गर्ने भएको बताइन्छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले रकमको जोहो गर्दा आफूहरूले भनेको समय सीमा साताभित्र उक्त शुल्क तिर्न कठिन भएकाले गर्दा केही दिन लाग्न सक्ने उनले बताए ।
पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनीहरू रहेको हवाई खेलकुद संस्था नाले जनाएको छ । उनीहरूमध्य माउन्टेन भ्यूले मात्र स्थानीय तहलाई शुल्क तिरेको थियो भने बाँकी ५९ वटा कम्पनी विगत ४ वर्षदेखि स्थानीय कर नतिरेर पनि सञ्चालन हुँदै आएको अध्यक्ष थापाले जनाए । पोखरामा हाल करिब ५० वटा कम्पनीहरू नियमित सञ्चालन हुँदै आएका छन् ।