मनोरञ्जन शर्मा
सोमवार, माघ २८, २०७५
328

रुपन्देही- नेपालका अन्य प्रदेशको तुलनामा पाँच नम्बर प्रदेश पर्यटन क्षेत्रमा समेत उत्तिकै अब्बल छ । कृषि, उद्योग, व्यापारसँगै यो प्रदेशमा देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पर्यटकीय गन्तव्यका कारण महत्वपूर्ण प्रदेश बनेको छ । त्यसैले प्रदेश ५ पर्यटनका लागि देशकै उत्कृष्ट गन्तव्यका रुपमा रहन गएको छ । प्रदेश ५ को सरकारले यहाँको पर्यटकीय क्षेत्रका सम्भावना अधिक देखेर आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत पर्यटन क्षेत्रलाई महत्व दिएको छ ।
प्रदेश ५ लाई मिनी नेपालको रूपमा व्याख्या गर्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले देशको महत्वपूर्ण पर्यटकीय क्षेत्रहरू ५ नम्बर प्रदेशमा रहेकाले पर्यटन क्षेत्रमा समेत अग्रस्थानमा रहेको बारम्बार बताउँदै आएका छन् । धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदामात्र नभई वाइल्डलाइफ, एडभेन्चर र पदयात्राका लागि पनि महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा अघि आएको छ, ५ नम्बर प्रदेश ।

अन्तर्राष्ट्रिय स्तरमा ध्यान खिच्न सफल बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र, बुद्धका पिता राजा शुद्धोधनको तिलौराकोट दरबार, बुद्ध जीवनीमा आधारित कपिलवस्तुका कुदान, गोटीहवा, निग्लीहवा लगायत विभिन्न स्थान, बुद्धको मावली देवदह, अस्तिधातु रहेको रामग्राम स्तुपलगायतका महत्वपूर्ण स्थल यहाँ भएकाले पनि प्रदेश ५ पर्यटन क्षेत्रका लागि धनी छ । वार्षिक ३० लाखभन्दा बढी आन्तरिक र २ लाखको हारहारीमा विदेशी पर्यटक यो प्रदेशमा भ्रमणका लागि आउने गरेका छन् । भारतीय पर्यटकहरू पनि उत्तिकै आउँछन् । सन् २०१८ मा १ लाख ७० हजार विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए ।
यस प्रदेशमा थुप्रै प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटकीय सम्पदाहरू छन् । विश्वकै ध्यान तान्न सफल बुद्धको जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, चमेरे गुफा, जखेरा ताल, तिलौराकोट, निग्लीहवा, कुदान, सगरहवा, देवदह, रामग्राम, गोटिहवा, स्वर्गद्वारी, धारपानी, पुरन्धारा छहरा, वाह्रकुने दह, रिडी, रानीमहल, श्रीनगर, सुपा देउराली, जगदीशपुर ताललगायत दर्जनौं प्राकृतिक सम्पदा तथा धरोहर यस प्रदेशमा छन् ।
प्रदेशका सबै जिल्लाहरूमा धार्मिक मठ मन्दिरहरू रहेका छन् भने सांस्कृतिक रूपमा पनि थारू संस्कृति, मगर संस्कृति, अवधि संस्कृति, मुस्लिम संस्कृति र खस–आर्य संस्कृति मार्फत् पर्यटक गतिविधि अघि बढाउन मद्दत पुग्ने देखिन्छ । भौगोलिक अवस्थिति र भू–वनावट, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दूहरूको पवित्रस्थल स्वर्गद्वारी लगायत थुप्रै धार्मिक तथा सांस्कृतिक पुरातात्विक महत्वका मठमन्दिर, स्मारक, सम्पदा, तालतलैया तथा ऐतिहासिक स्थलहरूका साथै थारू, मगर, अवध, मुस्लिम आदि समुदायको विशिष्ट संस्कृति, बाँके र बर्दियामा रहेका विश्व प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूले गर्दा प्रदेशको महत्व बढेको छ ।
बर्दिया र बाँके राष्ट्रिय निकुञ्जलाई थप विकास एवं व्यवस्थित गरी प्रशस्त मात्रामा बाह्य पर्यटकहरू आकर्षित गर्न सकिने सम्भावना रहेको र मानसरोवर यात्राको आधार बिन्दुका रूपमा पश्चिम नेपालगञ्जलाई थप विकास गर्न सकिन्छ । पर्यटनमार्फत् यस प्रदेशको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा लुम्बिनी विकास गुरूयोजना अनुसारको काम अब तोकिएकै समयमा सम्पन्न भए प्रदेश ५ को पर्यटन क्षेत्रमा मात्र नभई नेपालकै विकासमा महत्वपूर्ण देखिन्छ ।
पर्यटन विकासका लागि विश्वमै प्रसिद्ध शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी एवं बुद्धसँग सम्बन्धित तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, कक्रहवा र कुदानजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण र विकास गरिने नीति रहेको बताइएको छ भने पाल्पा दरबार, रानीमहल, जितगढी किल्ला, छिल्लीकोटजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा प्रदेश सरकारले महत्व दिने पर्यटन मन्त्री लिला गिरीको भनाइ छ ।
धार्मिक पर्यटन क्षेत्रलाई पनि प्रदेश सरकारले महत्व दिएको र धार्मिक पर्यटनका सम्भावित क्षेत्रहरू प्यूठानको स्वर्गद्वारी, गुल्मीको रिडी रेसुंगा, दाङको धारापानी, रिहार र बाह्रकुने दह, परासीको त्रिवेणीजस्ता क्षेत्रहरूको विकास र प्रवद्र्धनमा जोड दिई अघि बढ्ने कार्यक्रम रहेको गिरीको भनाइ छ । प्रदेश सरकारले नयाँ पर्यटकीय गन्तव्यका लागि मोनो रेल, साहसिक खेल क्यानोयिङ, ट्रेकिङ्ग, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, गार्डेन सिटी, केवलकार, भिलेज, होमस्टे, हिल स्टेशन आदिको सम्भाव्यता अध्ययन गरी विकास गर्दै लग्ने योजना बनाएको छ ।
प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि हरसम्भव कार्य गर्ने जनाएको छ । दुर्लभ पाटेबाघको संरक्षण क्षेत्रका रूपमा रहेको बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन सिकार आरक्षण क्षेत्र, पाहुना चराहरूको महत्वपूर्ण गन्तव्य बन्न पुगेको जगदिशपुर तालको संरक्षण र विकास गर्दै पर्यटकीय गतिविधिलाई अघि बढाई बढीभन्दा बढी पर्यटकलाई भित्र्याउन सकिने प्रदेश सरकारको योजना छ ।
पर्यटन क्षेत्रको बढ्दो सम्भावना तथा बढी पर्यटक भित्र्याउनका लागि पहाडी जिल्लाहरूमा पर्यटकीय पदमार्गको रूपमा विकास गर्ने र प्रदेशमा रहेका चारवटै उपमहानगरपालिका आसपासका क्षेत्रमा आधुनिक चिडियाखाना र वनस्पति उद्यानसहितको वहुउद्देश्यीय पार्क निर्माण र पूर्वपश्चिम राजमार्ग आसपासमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक तथा मनोरञ्जन पार्कको स्थापना गर्न सम्भाव्यता अध्ययन गर्नका लागि रकम बिनियोजन प्रदेश सरकारले गरिसकेको छ ।