रासस
शुक्रवार, कार्तिक २३, २०७५
453

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेककोटमा रहेको स्याङ्जा भैरव कालिकास्थित भैरव शिलालाई उडेर आएका देवताका रुपमा पूजा गर्ने गरिएको छ ।
स्वरेक र आसपासका सर्वसाधारणले अत्यन्त श्रद्धा र विश्वासका साथ पूजाआजा गर्दै आएको यस तीर्थस्थलको अस्तित्व नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै रहिआएको पाइएको छ ।

मन्दिर परिसरमा मल्लकालीन समयमा प्रयोग भएका इँटासमेत पाइने भएकाले तिनै इँटाका माध्यमबाट मन्दिर र आसपासको इतिहासको अध्ययन एवम् अनुसन्धान गर्न सक्ने देखिएको छ ।
स्थानीय समाजसेवी एवम् स्वरेक कालिका टोल विकास संस्थाका सचिव शोभाकान्त पाण्डेका अनुसार आश्विन शुक्ल पक्ष (नव दुर्गा) र चैते दशैँका समयमा यस मन्दिरमा विभिन्न भाकलका साथ बलि एवम् सामान्य पूजाका लागि भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन र माघ महिनाका साथै औँशी, एकादशी तिथिमा भने बलि पूजा हुँदैन । यस तीर्थस्थलमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको उनले बताए ।
मन्दिर परिसरस्थित भैरव शिला भूमिगत छ । जमीनको भागबाट केही तल अवस्थित शिला बाटुलो चक्राकार छ । प्रत्येक वर्ष सो शिला एक चक्कर लगाएर स्वस्थानमा नै घुम्ने विश्वास गरिन्छ ।
शिला खाडलमा रहे पनि उक्त खाडलमा पानी भने कहिल्यै नजम्ने गरेको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताए । भैरवको शक्तिकै कारण पानी नजमेको विश्वास गरिन्छ ।
पाण्डेका अनुसार भैरव वालिङको पेखुबाट उडेर स्वरेक आएको जनविश्वास छ । उडेर आएका भैरवलाई फर्काउन पेखुवासी स्वरेक पुगे पनि भैरव शिला झन झन अझैँ गह्रौँ हुँदै जमीनमा गढ्दै गएछन् । त्यसै बेलादेखि पेखुका ठकुरीले त्यहाँस्थित धारापानीको पानी नपिउने प्रचलन पनि छ भने भैरव कालिका मन्दिरमा अहिले पनि धारापानीको पानी नल्याई पूजा चल्दैन । भैरव फिर्ता गर्न आएका पेखुवासीलाई स्वरेकका पङ्गेनीहरूको अगुवाइमा रोक्न खोजिएको विषय पनि जनजिब्रोमा कायमै रहेको उनले बताए ।
त्यसै बेलादेखि पङ्गेनीहरूले छाङ्छाङ्दीको पानी नपिउने गरेको अर्को किंवदन्ती पनि छ । मन्दिरमा आश्विन शुक्ल अष्टमीको मध्यरातमा गरिने कालरात्रीको पूजामा पङ्गेनी थरका व्यक्ति अनिवार्य उपस्थित हुने चलनसमेत छ ।
मल्लकालीन समयदेखि नै स्याङ्जा भैरव कालिकाको गुठी जग्गा रहिआएको पाइन्छ पुरानो चलनअनुसार ४२ मुरी माटो भनी क्षेत्रफल निर्धारण गरिएको सो जग्गा कटुवाल र दुई पुजारीले उपभोग गर्दै आएका छन् । मन्दिरमा खाँण र सेन थरका पुजारीले पूजाआजा गर्दै आएको पाइन्छ ।
आस्था एवम् विश्वासको धरोहरकै रुपमा रहेको स्याङ्जा भैरव कालिकाको धार्मिक एवम् सांस्कृतिक महत्व प्रचारप्रसार गर्न सके यसलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बनाउन सकिने अर्का स्थानीयवासी कुलबहादुर खाँणको भनाइ छ ।
स्याङ्जा भैरव कालिका मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सम्भावना रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रशासन तथा कार्यक्रम अधिकृत प्रदीपराज गैरेले बताए ।
प्याराग्लाइडिङको विश्वकपसमेत सम्पन्न भइसकेको स्वरेकस्थित स्याङ्जा भैरव कालिका तीर्थस्थलको प्रवद्र्धन एवम् विकासमा राज्यको ध्यान पुग्नुपर्ने सरोकारवाला बताउँछन् ।