कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
1731

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालय बाधक नवनने भएको छ । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्वनध समितिमा भएको छलफलमा मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणमा वन मन्त्रालय बाधक नवनने स्पष्ट पारेका हुन् ।
“नेपालमा ६६ लाख हेक्टर जमिनमा जंगल फैलिएको छ, निजगढमा १ हजार ६ सय ४१ हेक्टर जमिनमा मात्रै जगंल फँडानी हुने हो,” सचिव ओलीले भने । निजगढको विषयमा भइरहेको पछिल्लो बहसले वातावरण संरक्षणमा सहयोग पुग्ने तर, वातावरण जोगाएरै निजगढ विमानस्थल वनाउन सकिने भएकोले यसमा वातावरण विदहरूले धेरै चिन्ता व्यक्त गरिराख्न नपर्ने समेत उनले बताएका छन् ।

ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पहिलो चरणको विमानस्थल निर्माणका लागि ९ सय ९० हेक्टर र दोस्रो चरणको विस्तारको लागि गरी जम्मा १३ सय हेक्टर र विमानस्थलको वरपरको क्षत्र गरी जम्मा १ हजार ६ सय ४१ हेक्टर जमिनको लागि मात्रै वन कटानीको लागि प्रस्ताव आइपुगेको जानकारी दिए । वन मन्त्रालयलाई विकासको बाधक भएको बाहिर नकारात्मक प्रचार भइरहेको उल्लेख गर्दै सचिव ओली रुख रोप्ने र काटेर विकास गर्ने कार्य संगसंगै लैजानेगरी काम अगाडी बढाउनु पर्नेमा समेत जोड दिएका छन । “वन मन्त्रालय विकासको बाधक हैन र बन्दैन पनि,” सचिव ओलीले स्पष्ट पारे ।
समितिको उपसमितिले राखेको छलफलमा विभिन्न सरोकार वाला निकायहरूको सिवालमा जवाफ दिदै सचिव ओलीले वातावरणविदहरूलाई धेरै चिन्ता गरेर नहिँड्नसमेत आग्रह गरे । “म पनि वातावरणमै विद्यावारिधी गरेको मान्छे हुँ, हामीले पनि वन मास्दै हिँड्ने भनेका छैनौँ तर राष्ट्रिय गौरवको आयोजनालाई वनले अवरोध गर्दैन,” सचिव ओलीले भने ।
उपसमितिले राखेको छलफलमा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नेपालमा झन्डै १ करोड हाराहारी हवाई यात्रु पुगेको उल्लेख गर्दै निगजढ विमानस्थल निर्माण नगरेमा समस्या हुने बताए । अहिले निर्माणमा रहेका पोखरा र भैरहवाले जम्मा ३० लाख यात्रुमात्रै धान्ने उल्लेख गर्दै निजगढको विकल्प सोच्न नसकिने बताए । उनले वातावरणविदको नाममा अहिले धेरै बहस भएको बताउँदै वातावरण जोगाएरै सकेसम्म थोरै रुख काटेर विमानस्थल बनाउनेतर्फ प्राधिकरण लागेको समेत स्पष्ट पारे ।
छलफलमा उपसमितिका सभापति तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदको समितिले निजगढ विमानस्थल निर्माणलाई अवारोध नगर्ने स्पष्ट पार्दै निर्माणमा अब ढिलाइ गर्ने छुट नरहेको बताए । “अब पनि अध्ययन र विकल्प खोज्न थालियो भने विमानस्थल अर्को २७ वर्ष बन्दैन,” नेपालले भने । अब निर्माण गर्ने नै हो वातावरण पनि कम क्षति गरेर अगाडि बढ्नुको विकल्प नभएको नेपालले बताए । कार्यक्रममा उपसमितिका सदस्यहरूले पनि विमानस्थल निर्माणमा ढिलाई गर्न नहुनेतर्फ जोड दिएका थिए ।

नागीडाँडामा विमानस्थल किन ?
उपसमितिका सभापति तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बनेपाको नागीडाँडामा विमानस्थल निर्माण तत्काल रोक्न निर्देशनसमेत दिएका छन् । राष्ट्रिय गौरवका आयोजना निर्माण ध्यान दिनुपर्नेबेलामा डाँडैपिच्छे विमानस्थल वनाउने कुरा गर्नु गलत भएको उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नाँगीडाँडामा आन्तरिक उडानका लागि विमानस्थल निर्माण गर्ने भन्दै २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसको वातावरणीय प्रभाव मूल्यांकन (ईआर्ईए)को कामसमेत अगाडि बढाइसकेको छ ।