मेगराज खड्का
बुधवार, भदौ २७, २०७५
556

रुकुम-रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा हवाई सेवा १५ महिनादेखि बन्द छ । गत वर्षको जेठ महिनाको दोस्रो सातादेखि बन्द भएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । नेपाल वायुसेवा निगमले पर्याप्त मात्रामा जहाज र पाइलट नभएको भन्दै चौरजहारीमा हवाई सेवा बन्द गरेको हो । हाल निगमसँग जहाज र जनशक्ति कम भएकाले चौरजहारी विमानस्थलको हवाईसेवा अनिश्चित समयका लागि बन्द गरिएको चौरजहारी विमानस्थलका स्टेसन प्रमुख सुरेन्द्रबहादुर नेपालीको भनाइ छ ।
लामो समयदेखि चौरजहारी विमानस्थलमा हवाई सेवा नियमित नहुँदा रुकुमलगायत छिमेकी जिल्ला जाजारकोट र सल्यान जिल्लाका स्थानीयहरू समस्यामा परेका छन् । अनिश्चित समयका लागि हवाई सेवा बन्द भएपछि जटिल प्रकृतिका बिरामी, गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धाहरू बढी मारमा परेका छन् । लामो समयदेखि हवाई सेवा बन्द भएपछि अब कहिलै जहाज नआउने हो कि भनेर स्थानीयहरू चिन्तित बन्न थालेको स्थानीय गंगाराम शर्माले बताए । नेपालकै दश नमुना सहरका रूपमा विकसित बन्दै गरेको चौरजहारीमा लामो समयदेखि हवाई सेवा बन्द हुनुले स्थानीय जनप्रतिनिधिलाई समेत अन्योलमा पारेको छ ।
नगरपालिकाको मातहतभित्र हवाई सेवा नपर्ने भएकाले बन्द हवाई सेवालाई सुचारु गर्न जिल्लाका निर्वाचित सांसद, मन्त्री तथा अन्य नेतालाई आग्रह गरिएको भए पनि सुचारु हुन नसकेको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले बताए । २०२८ सालबाट सञ्चालमा आएको चौरजहारी विमानस्थल २०७० सालमा कालोपत्रे मार्फत धावनमार्गको स्तरोन्नति गरिएको थियो ।