केदार दाहाल
बुधवार, भदौ २७, २०७५
1716

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनका ७ वटा सहरमा सीधा उडानको प्रक्रिया सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दिएको जानकारी अनुसार चीनका ७ वटा सहरमा उडान गर्नका लागि प्रक्रिया सुरु भएको छ ।
नेपाल र चीनबीच सन् २००९ मा भएको हवाई सम्झौतामा नेपालले चीनका सात सहरमा उडान गर्न पाउने व्यवस्था छ । चीनले अनुमति दिएका सातवटै सहरमा आगामी २ वर्षभित्र निगमले उडान थाल्ने मन्त्री अधिकारीले जानकारी दिए । यी सात सहरमा ग्वान्झाओ, चेन्दु, सांघाई, लुसान, ल्हासा, सिचुवान र बेइजिङ रहेका छन् । सबै गन्तव्यमा सकेसम्म छिटो उडानका लागि प्रक्रिया सुरु भएको मन्त्री अधिकारीले बताए ।

लुसान विमानस्थल यसै वर्ष निर्माण सम्पन्न भएर सञ्चालनमा आउने भएकोले नेपालको पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सीधै भैरहवा–लुसान उडान थाल्ने अधिकारीले बताए । “लुसान बुद्धिष्टहरूको ठूलो आस्थाको केन्द्र हो र लुम्बिनी बुद्धको जन्मथलो भएकाले उनीहरू सीधा उडान गर्न तयार छन्,” मन्त्री अधिकारीले भने ।
बेइजिङमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ११ महिनापछि सञ्चालनमा आउने भएकोले नेपाललाई चीनले पनि प्राथमिकतामा राखेको छ । “चीनबाट पर्यटक बढाउनको लागि पनि नेपालबाट सीधा उडान गराएर हवाई भाडा घटाउनुको विकल्प छैन,” मन्त्री अधिकारीले भने ।
निगमसँगै अन्य नेपालका एयरलाइन्सहरूलाई उडान अनुमति नदिएको विषयमा कुटनैतिक पहल भइरहेको र निकट भविष्यमै नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा सीधा उडान थाल्ने दावी मन्त्री अधिकारीको छ । निगमले दुई थान एयरवस ३३०–२०० सिरिजको वाइडबडी जहाज नेपाल ल्याइसकेकोले अब चीनसहित दक्षिण कोरिया, जापानलगायतका गन्तव्यमा उडानका लागि अन्तिम तयारी भइरहेको मन्त्री अधिकारीले बताए ।

ग्वान्झाओमा ३ वर्षदेखि अनुमति पाएन
निगमले चीनको व्यापारिक सहर ग्वान्झाओमा उडानका लागि अनुमतिको प्रयास गरेको तीन वर्षसम्म पनि चीनले स्वीकृति नदिएपछि नयाँ गन्तव्य थप्ने निगमको लक्ष्य अलपत्र परेको छ । चीनको झन्झटिलो प्रक्रिया साथै ग्वान्झाओको ब्यस्त विमानस्थलका कारण निगमलाई अनुमति लिन हम्मे परेको हो । “ग्वान्झाओले स्लट नभएको जवाफ दिए पनि कुटनीतिक पहल जारी छ,” अधिकारीले भने ।
निगमले दुबई र ग्वान्झाओ उडान एकैचोटी सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाए पनि दुवईमा उडान सुरुगरेको १ वर्ष बितिसक्दा पनि ग्वान्झाओबाट भने अनुमति पाएको छैन । निगमले नयाँ गत वर्षको जेठबाटै ग्वान्झाओ उडान गर्ने लक्ष्य राखेको थियो । न्यारोबडी खरिद गर्नेवित्तिकै ग्वान्झाओका लागि प्रक्रिया सुरु गरे पनि दुई वाइडबडी जहाज आइसक्दा पनि अनुमति पाएको छैन ।