कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
210

फिफा विश्वकप यस्तो मञ्च हो, जहाँ ३२ टोली कठिन छनोट चरण पार गरेर पुग्छन् । त्यहाँ थप कडा प्रतिस्पर्धा हुन्छ । प्रत्येक संस्करणमा कुनै न कुनै रेकर्ड बनेकै हुन्छन् । कमजोर मानिएका टोलीले सनसनीपूर्ण प्रदर्शन गर्छन् र ठूला भनिएका टिमले निराशाजनक पनि । केही यस्ता टिमको उदय हुन्छ, जसले यूरोप र दक्षिण अमेरिकाका ठूला, स्थापित र अनुभवी टिमलाई हैरान बनाउँछन् ।
विश्वकप खेल्ने ३२ ओटै टिमले विश्व फुटबलमा केही न केही छाप छोड्ने कोसिस गर्छन् र उपाधि जित्ने सपना पनि सबैले पालेका हुन्छन् । ती सबैको त्यो चाहना पूरा हुँदैन । विश्वकप कसैलाई लागि यादगार रहन्छ भने केहीका लागि बिर्सनलायक पनि ।
सन् २०१० मा इटाली र २०१४ मा स्पेन उपाधि रक्षा गर्ने अभियानमा थिए । तर उनीहरूको अभियान समूह चरणमै टिक्न सकेन । जबकी २०१० को समूह चरणमा इटालीले एउटा खेल समेत जित्न सकेन । २०१४ मा स्पेनले नेदरल्याण्डसँग लज्जास्पद हार व्यहोरेको थियो । यतिमात्रै होइन, १९९८ मा उपाधि जितेको फ्रान्स २०१४ को समूह चरणबाटै बाहिरिएको थियो । २०१८ मा जर्मनी त्यो इतिहासलाई चिर्न चाहन्थ्यो । तर ऊ पनि यो खराब निरन्तरताको शिकार बन्यो । उसको विश्वकप यात्रा समूह चरणभन्दा माथि बढ्न सकेन ।
जर्मनीले पहिलो खेलमै मेक्सिकोसँग १–० को हार व्यहोर्यो । दोस्रो खेलमा स्वीडेन विरुद्ध २–१ को जित निकालेको जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग २–० को पराजय भोग्दै घर फर्कन बाध्य भयो र उपाधि रक्षा गर्ने सपना चकनाचुर बन्यो ।
इरान, आइसल्याण्ड, नाइजेरिया, मेक्सिको, मोरक्को र जापान जस्ता टिमले निकै राम्रो खेले । कोलम्बिया विरुद्धको खेलमा जापान विजयी हुँदा पूरै एसियाले खुसियाली मनाएको थियो । किनकी जापान दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो टिम बन्यो । जापान सेनेगललाई पन्छाउँदै नकआउट चरणमा पुग्यो, जुन आफैंमा उपलब्धिमूलक थियो ।
यूरोपियन च्याम्पियन पोर्चुगलसँग बराबरी खेलेको इरान, शक्तिशाली अर्जेन्टिनालाई बराबरीमा रोक्ने आइसल्याण्डको प्रदर्शन पनि रसिया विश्वकपका सम्झन लायक क्षण हुन् । अन्तिम १६ मा प्रतियोगिताको सबैभन्दा कमजोर मानिएको आयोजक रसियाले उपाधि दावेदार स्पेनलाई पन्छाइदियो । यो पनि निकै यादगर क्षण हुनेछ । फ्रान्स र अर्जेन्टिना विरुद्धको सनसनीपूर्ण खेल पनि रसिया विश्वकपको सम्झन लायक खेल थियो । यस्तै छैटौं पटक उपाधि जित्ने अभियानमा रहेको ब्राजिललाई अन्तिम आठमा बेल्जियमले हराएर संसारलाई चकित पारेको थियो । किनकी ब्राजिल आफैंमा बलियो टिम थियो र रसिया विश्वकपको प्रमुख उपाधि दावेदार पनि ।