१२ वर्षमा ७६ गोल गरेँ
एजेन्सी
आइतवार, असार २४, २०७५
3940

रोमेलु लुकाकु
स्ट्राइकर, बेल्जियम
मलाई रेफ्रिजेरेटरको छेउमा उभिएकी आमा र उनको अनुहार याद छ, जति बेला म ६ वर्षको थिएँ । स्कुलबाट हाफ टाइममा म दिउँसो खाना खान घर आउँथे । आमाले हरेक दिन रोटी र दूध दिन्थिन् । सधैझैं एकदिन म घर आएँ र सिधै भान्छामा छिरें । आमा रेफ्रिजेरेटरको छेउमा थिइन् । सधैँझैं हातमा दूधको बट्टा समातेकी थिइन् र दूधमा केही मिसाइरहेकी थिइन् । उनले बट्टा तलमाथि हल्लाइन् । त्यो बेला आमाले के गरेकी हुन् मैले पत्तो पाइनँ ।
एक छिनपछि आमाले खाना ल्याइदिइन्, त्यसपछि मात्रै थाहा पाएँ आमाले के गरेकी थिइन् । उनले दूधमा पानी मिसाएकी थिइन् । हामीसँग हप्ताभरि पुग्ने दूध किन्ने पैसा समेत थिएन् । हामी गरिब होइन, टाट पल्टेका थियौं ।
मेरा बुबा फुटबल खेल्थे तर उनी आफ्नो करियरको अन्त्यतिर थिए र सबै पैसा सकिइसकेको थियो ।
पहिले केबल टिभी गयो । त्यसपछि न फुटबल, न म्याच अफ द डे । न त सिग्नल । राति म घर आउँदा बत्ती हुँदैन थियो । नुहाउन तातोपानी हुँदैन थियो । आमाले स्टोभमा अलिकति पानी तताउँथिन् । म सावरको मुनि कपले टाउकोमा तातोपानी खन्याएर नुहाउँथे ।
गल्लीको बेकरी पसलबाट आमा पाउरोटी उधारोमा ल्याउँथिन् । ती पसले मलाई र भाइलाई चिन्थे । शुक्रबार पैसा तिर्ने गरी सोमबार नै पाउरोटी दिन्थे ।
जतिबेला आमाले दूधमा पानी मिसाएको देखें । मैले सबैथोक सकिएको महसुस गरेँ । त्यो दिन मैले आमासँग एक शब्द बोलिनँ । म उनलाई तनाव होस् भन्ने चाहँदिन थिएँ । तर मैले भगवानसँग कसम खाएँ र आफैंसँग एउटा वाचा गरें ।
एकदिन स्कुलबाट घर फर्कँदा आमा रोइरहेकी थिइन् । मैले आमालाई भनेँ, ‘आमा यो सबै फेरिन्छ । हेरिराख, म एन्डरलेक्टका लागि फुटबल खेल्दैछु र त्यो पनि छिटै । त्यसपछि हामीलाई राम्रो हुनेछ । चिन्ता गर्नुपर्दैन ।’
६ वर्षको हुँदा मैले बुबालाई सोधें ‘कति वर्ष भएपछि व्यावसयिक फुटबल खेल्न पाइन्छ ?’
बुबाले भन्नुभयो, ‘१६ वर्षमा ।’
मैले भनें, ‘ठिक छ । त्यसो भने १६ वर्ष ।’
त्यसपछि मैले खेल्ने हरेक खेल फाइनल थिए । पार्कमा खेल्दा पनि त्यो फाइनल थियो । किन्डरगार्डेनको ब्रेक टाइममा खेल्दा पनि त्यो फाइनल थियो । म निकै गम्भीर थिएँ । हरेक पटक बल हान्दा म पूरै बल लगाएर हिर्काउँथे ।
म बेल्जियमको इतिहासमै म सबैभन्दा राम्रो फुटबलर हुन चाहन्थें । त्यो मेरो लक्ष्य राम्रो होइन, महान पनि होइन तर सबैभन्दा राम्रो हुने थियो ।
म निकै आक्रोशित भएर खेल्थें किनकी त्यहाँ धेरै कुरा थिए । हाम्रो अपार्टमेन्टमा मुसाहरू दौडिरहेका हुन्थे । किनकी म च्याम्पियन्स लिग हेर्न पाउँदैनथें । किनकी अरू अभिभावक मलाई अर्कै तरिकाले हेर्थे ।
म एउटा मिसनमा थिएँ । १२ वर्षको हुँदा मैले ३४ खेलमा ७६ गोल गरेकोे थिएँ । ती सबै गोल मैले बुबाका जुत्ता लगाएर गरेको थिएँ । खुट्टाको आकार मिल्न थालेदेखि हामी एकआर्काका जुत्ता लगाउँथ्यौं ।
एकदिन मैले मामाघरका हजुरबुबालाई फोन गरें । उनी मेरो जिन्दगीमा सबैभन्दा महत्वपूर्ण व्यक्तिमध्ये एक थिए । उनी मेरा बुबा र आमा आएको कंगोका थिए । बेलाबेलामा हाम्रो फोनमा कुराकानी हुन्थ्यो ।
फोनमा मैले एकदम राम्रो गरिरहेको, ७६ गोल गरेको र दुई लिग जितेको बताएँ । उनी सधैँ मेरो फुटबलबारे सुन्न चाहन्थे । तर यसपटक अचम्म भयो । उनले भने ‘त्यो राम्रो हो । तर तिमी मलाई एउटा सहयोग गर्न सक्छौ ?’
मैले भनेँ, ‘सक्छु नि, के हो भन्नु त ? ’ मैले भनें ।’
उनले भने, ‘तिमी मेरी छोरीको हेरचाह गर्न सक्छौ?’
हजुरबाले के भनेका होलान् मैले बुझ्न सकिनँ ।
मैले भने, ‘आमा ठिक छन् । हामी सबै ठिक छौं ।’
उनले भने, ‘नाइँ, मलाई वचन देऊ । मेरी छोरीको राम्रो हेरचाह गर । मेरा लागि मेरी छोरीको राम्रो हेरचाह गर ।
मैले भने, ‘हुन्छ हजुरबा, मैले बुझें । तपाईंलाई मेरो वचन भयो ।’ त्यसको पाँच दिनपछि हजुरबा बिते । मैले बल्ल बुझें उनले किन त्यसो भनेछन् ।
मलाई त्यो सम्झेर अहिले दुःख लाग्छ । हजुरबा चार वर्ष अरू बाँचेको भए मलाई एन्डरलेक्टबाट खेलेको देख्थे । मैले आफ्नो वचन पूरा गरेको देख्थे । सबै कुरा ठिकठाक भएको देख्थे ।
मैले आमालाई म १६ वर्षको भएपछि सबै राम्रो हुन्छ भनेको थिएँ । म १६ वर्ष हुन ११ दिनमात्र बाँकी थियो ।
मे २४, २००९ । एन्डरलेक्ट र स्टान्डर्ड लिजबीचको प्लेअफ फाइनल । त्यो मेरो जिन्दगीकै अविश्वसनीय दिन थियो । तर हामीले एक मिनेट अझ पछाडि फर्केर हेर्नुपर्छ । किनभने सिजनको सुरूआतमा म एन्डरलेक्टको यू–१९ बाट मुस्किलले खेलिरहेको थिएँ । प्रशिक्षकले मलाई बेन्चमा राखेका थिए । म सोचिरहेको थिएँ, ‘बेञ्चमा बसेर म आफ्नो १६ औं जन्म दिनमा कसरी प्रो कन्ट्रयाक्टमा साइन गरौंला ?’
त्यसपछि मैले प्रशिक्षकसँग बाजी थापें । मैले भनें, ‘मलाई खेल्न दिनुभयो भने डिसेम्बरसम्म म २५ गोल गर्छु ।’
उनी हाँसे ।
मैले भनेँ, ‘पत्याउनुभएन ? ल बाजी राखौं ।’
उनले भने, ‘ओके । तर तिमीले डिसेम्बरसम्म २५ गोल गरेनौं भने फेरि बेन्चमा बस्नुपर्छ ।’
नोभेम्बरमै मैले २५ गोल हानें । मे १३ मेरो जन्मदिन हो । सोही दिनको अवसरमा मैले एन्डरलेक्टसँग प्रोकन्ट्रयाक्ट साइन गरें ।
बेल्जियम लिगमा त्यो वर्ष अचम्मको भइरहेको थियो किनकी एन्डरलेक्ट र स्टान्डर्ड लिजले बराबरी प्वाइन्ट ल्याएका थिए । त्यही भएर उपाधिका लागि दुईवटा प्लेअफ खेल्नुपर्ने थियो ।
पहिलो खेल हुँदा म समर्थकजस्तो घर बसेर टिभीमा हेरिरहेको थिएँ । एन्डरलेक्टमा दोस्रो खेल हुनु अघिल्लो दिन मलाई प्रशिक्षकले फोन गरे ।
उनले भने, ‘हेलो रोम । तिमी के गरिरहेका छौ?’
मैले भनेँ, ‘पार्कमा फुटबल खेल्न जान लाग्या छु ।’
उनले भनेँ, ‘हुन्न, हुन्न पार्कमा खेल्न नजाऊ । तिम्रो झोलासोला छिटो तयार गर ।’
मैले भनेँ, ‘के रे ? के गरें र मैले ?’
उनले भने, ‘होइन तिमीले केही गरेका छैनौं । तिमी तत्काल रंगशाला जानुपर्ने भयो । पहिलो टिम तिमीलाई चाहन्छ ।’
मैले भनेँ, ‘के रे ! म?’
उनले भने, ‘हो, तिमी छिटो आऊ ।’
त्यो दिन रंगशला पूरै हेरेको र दौडिँदै ड्रेसिङ रूममा गएको म कहिल्यै बिर्सन्न । ड्रेसिङ रूममा किटम्यानले सोध्यो, ‘कति नम्बरको जर्सी लगाउन चाहन्छौ ?’
मैले भनेँ, ‘१० नम्बरको जर्सी दिनुस् ।’
६३ औं मिनेटमा म्यानेजरले मलाई सब्स्टिच्युटमा जान भने । म १६ वर्ष ११ दिनमा एन्डरलेक्टका लागि मैदानमा उत्रिएँ । त्यो फाइनल खेल हामीले हार्यौ तर म त आफूले चाहेको ठाउँमा पुगिसकेको थिएँ । मैले आमा र हजुरबालाई गरेको वाचा पूरा गरेको थिएँ ।
जतिबेला म १७, १८ र १९ वर्षको थिएँ, मेरो प्रदर्शन राम्रो हुन्थ्यो । समाचारपत्र मलाई रोमेलु लुकाकु, बेल्जियमको स्ट्राइकर लेख्थे । जब मेरो खेल राम्रो हुँदैनथ्यो, उनीहरू मलाई रोमेलु लुकाकु कंगोली मूलका बेल्जिएन स्ट्राइकर लेख्थे।
२००२ तिरको कुरा म सम्झन्छु । जतिबेला रियल मेड्रिड र बायर लेभरकुसेनले खेलेका थिए । सबै जनाले रियलका जिनेदिन जिदानले हानेको गोलको कुरा गरिरहेका थिए । ‘क्या गज्जबको भली । ओ माइ गड कस्तो भली !’ भनिरहेका थिए ।
मैले उनीहरूले गरिरहेको कुरा आफूलाई पनि थाहा भएजस्तो नाटक गर्नुपथ्र्यो ।
त्यो बसन्तभरि म त्यही साथीको घर गएँ ताकी रोनाल्डोले विश्वकप फाइनलमा गरेको गोल हेर्न सकूँ । त्यो प्रतियोगिताबारे अरू सबै कुरा मेरा लागि बच्चाहरूले स्कुलमा सुनाएका कथा थिए ।
म सम्झिन्छु २००२ मा मेरा प्वाल परेका जुत्ता थिए । ठूला ठूला प्वाल परेका । त्यसको १२ वर्षपछि म विश्वकप खेलिरहेको थिएँ ।
अहिले म आफ्नो दोस्रो विश्वकप खेल्दैछु ।
जतिबेला हामी बच्चा थियौं । म्याच अफ द डेमा हामी थिएरी हेनरीलाई हेर्न पनि पाउन्नथ्यौं । अचेल म हरेक दिन राष्ट्रिय टिममा उनीसँग केही सिकिरहेको हुन्छु । म लेजेन्डसँग काँध मिलाएर उभिएको छु र उनी मलाई कसरी उनीजस्तै मैदानको खाली भागमा दौडिने भनेर सिकाउँछन् । हेनरीमात्रै संसारमा यस्ता मानिस हुन्, जसले मेराभन्दा बढी फुटबल हेरेका छन् । हामी हरेक कुरामा बहस गर्छौं । हामी सँगै बसेर जर्मनीको सेकेण्ड डिभिजन फुटबलबारे छलफल गरिरहेका हुन्छौं ।
(बेल्जियमको राष्ट्रिय टोलीका सदस्य रोमेलु लुकाकुले द प्लेयर ट्रिब्युनमा लेखेको आलेखको अनुवादित अंश)