काठमाडौँ- शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल बुधबारदेखि पुनः शुरु भएको थियो ।
लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।
लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए ।
‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।