कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५
338

अन्तरप्रेरणाले बुधबार काठमाडौंमा आयोजना गरेको क्रियटिभ बिजनेस कप–२०१८ प्रतिस्पर्धामा पाइला टेकनोलोजी प्रालिले उपाधि जितेको छ ।
क्रियटिभ बिजनेस कपमा नेपालबाट छनोट हुने पाइला टेकनोलोजी व्यवसायले यही वर्ष नोभेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा सम्पन्न हुने अन्तर्राष्ट्रिय क्रियटिभ बिजनेस कपप्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ । यस अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्दै पाइला टेकनोलोजी ले ७००० यूरोे नगद पुरस्कारसँगै अन्य सुविधाहरूका लागि विश्वभरिका व्यवसायसँग नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय विजेताले कोपनहेगनमा हुने कार्यक्रममा प्रायोजकको सहयोगमा सहभागी भई आफ्नो विश्वव्यापी सञ्जाल विस्तार गर्ने अवसर प्राप्त गर्ने भएको हुँदा कार्यक्रमको अन्त्यमा यसले नेपालमा हरेक वर्ष नयाँ अवसरको सिर्जना नवउद्यमीहरूको लागि गर्ने सहभागीहरूले विश्वास व्यक्त गरे ।

यसप्रतिस्पर्धात्मक कार्यक्रममा नेपालका १५ नव व्यवसायहरू सहभागी भए जसमध्ये उत्कृष्ट एक व्यवसायले डेनमार्कमा हुने विश्व क्रियटिभ बिजनेस कप– २०१८ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको छ ।
क्रियटिभ बिजनेस कप (सीवीसी) एक वार्षिक कार्यक्रमको रूपमा आयोजना हुँदै आएको एक विश्वव्यापी कार्यक्रम हो । जसले विश्व भरी रहेका व्यवसायहरूलाई सशक्तीकरण गर्न मदत गर्छ । सीवीसीले व्यवसायहरूलाई सशक्तीकरण गर्नका साथै विश्वबजार र लगानीकर्तासम्मको पहुँचलाई अभिवृद्धि गर्दै व्यवसायहरूको प्रगतिशील क्षमता अभिवृद्धिमा समेत सहयोग पु¥याउँदछ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको क्रियटिभ बिजनेस कप प्रतियोगितामा उद्यमशीलताका विविध क्षेत्रमा नवीन र सिर्जनशील कार्यहरू गरिरहेका विभिन्न क्षेत्र जस्तै विज्ञापन, वास्तुकला, कला, डिजाइन, संगीत, पाककला, प्रदर्शन कला, अनुभव प्रविधि, भेषभूषा, सफ्टवेयर, खेल तथा इलेक्ट्रोनिक्स, चलचित्र र फोटोग्राफीका क्षेत्रमा कार्यरत नवउद्यमीहरूले प्रतिस्पर्धा गरेका थिएँ ।