अचार बनाएरै मासिक ५० हजार आम्दानी
कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
130

बिर्तामोड-वैदेशिक रोजगारी मात्र आम्दानीको राम्रो स्रोत हो भन्नेहरुलाई चुनौति दिँदै झापा अर्जुनधारा–९ का दिनानाथ शिवाकोटी अचार उत्पादनबाटै मनग्य आम्दानी गर्न सफल भएका छन् । २०५० सालबाट विभिन्न अचार उद्योगलाई अचार उत्पादन गर्न आवश्यक कच्चापदार्थ सप्लाई गर्दै अचारको क्षेत्रमा प्रवेश गरेका ५१ वर्षीय शिवाकोटीले २०६६ सालमा शिवबाबा अचार तथा जुस उद्योग स्थापना गरेर अचार उत्पादनबाट मनग्य आम्दानी लिन सफल भएका हुन् ।
२०६६ सालमा स्थापना गरेको शिवबाबा अचार तथा जुस उद्योगबाट वार्षिक १५ देखि २० टन अचार उत्पादन हुने गरेको शिवाकोटीले बताए । शिवबाबा अचार तथा जुस उद्योगबाट उत्पादित अचार झापाका विभिन्न बजारहुँदै राजधानी काठमाडौं र पोखराका विभिन्न बजारमा बिक्री गरेर वार्षिक १८ देखि २० लाख रुपैयाँको कारोबार गर्ने गरेको उनले बताए । शिवबाबा अचार तथा जुस उद्योगबाट उत्पादित अचार बिक्री गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ ।
बिर्तामोडस्थित एभरेष्ट बैंकबाट २० लाख रुपैयाँ कर्जा लिएर २०६६ सालमा उद्योग स्थापना गरेका शिवाकोटीले आफूले उत्पादन गरेको अचार देशैभर पु¥याउने लक्ष्य राखेको बताए । उद्योगबाट वार्षिक १५ देखि २० टन अचार उत्पादन हुने गरेको छ । उद्योगबाट मासिक तलबमा चार जना कर्मचारी, दैनिक ज्यालामा ६/७ जनालाई रोजगारी दिएको भन्दै उनले २० थरीका अचार उत्पादन गर्दै आएको जानकारी दिए । उद्योगबाट उत्पादित अचारको ल्याब परीक्षणका लागि एक जना खाद्य प्राविधिक पनि उनले राखेका छन् ।
आगामी दिनमा किसानबाट प्राकृतिक कच्चापदार्थ प्राप्त गर्न सकेमा अग्र्यानिक अचार उत्पादनको अभियान सुरु गर्ने शिवाकोटीले बताए ।