प्रकाश पाक्साँवा
शुक्रवार, असार ८, २०७५
414

तेह्रथुम- परम्परागत अन्नबालीबाट राम्रो आम्दानी हुन छाडेपछि तेह्रथुमका किसान अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित हुन थालेका छन् । वर्षको एक पटक मात्रै हुने अन्नबालीबाट राम्रो आम्दानी हुन छाडेसँगै यहाँका अधिकांश किसानले व्यावसायिक अकबरे खेती गर्न थालेका हुन् ।
कडा परिश्रम तथा मेहनतले उब्जाएको अन्नबालीले आफ्नो ज्याला पनि नउठेकाले किसानले वैकल्पिक खेती राजेका हुन् । “गाउँमा युवाहरू छैनन्, खेती लगाउनै समस्या छ,” फेदाप गाउँपालिकाकी मालती जोगीले भनिन्, “परम्परागत खेतीबाट खेतालाको ज्याला पनि नउठ्ने गरेपछि विकल्प सोचेका हौं ।” पाँच वर्षदेखि अन्नबालीलाई मासेर अकबरे खेती गर्न थालकी जोगीले केही जमिनमा अलैंचीसमेत रोपेकी छन् । “अन्नबालीले आफूलाई ५ महिना पनि खान पुग्दैन थियो,” उनले भनिन् “अकबरे र अलैंची खेती थालेपछि परिवार चलाउन सजिलो भएको छ ।” विभिन्न कारणले अकबरेको मूल्यमा गिरावट आए पनि किसानले राम्रो आम्दानी लिने गरेकाले ग्रामिण क्षेत्रका किसान अकबरेको व्यावसायिक खेतीमा जुटेका हुन् ।

जोगी जस्तै छथर गाउँपालिका–६ सुदापकी शिवमाया खड्काले पनि ६ वर्षदेखि अकबरे खेती गर्दै आएकी छन् । गाउँगाउँमा सडक सञ्जाल विस्तार भएसँगै अकबरेले बजार पाउन थालेको किसानहरू बताउँछन् । यस वर्ष छथर–२ की खेलमाया लिम्बुले ५ हजार अकबरेको बिरुवा लगाएकी छन् । अन्नबालीले हैरानी बन्दै आएकी लिम्बूले अकबरे खेतीलाई रोजेको बताइन् । उनी जस्तै गाउँमा धेरै किसानले यसवर्ष मात्रै अकबरे खेती लगाएका छन् । गाउँ–गाउँमा उत्पादन भएको अकबरे बिक्रीका लागी धेरै टाढाको बजार पु¥याउनुपर्ने बाध्यतासमेत किसानलाई छैन ।
अग्र्यानिक रूपमा खेतीलाई बिस्तार गर्दै आएका किसानले यहाँ उत्पादन गरेको अकबरे विदेशमा समेत निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ । विषेश गरी छथर क्षेत्रमा उत्पादन भएको अकबरेले छुट्टै पहिचान बनाउन सफल भएको छ । विभिन्न ठाउँबाट यस क्षेत्रमा आउने पाहुनाले छथरको कोशेलीको रुपमा अकबरेलाई लैजाने गरेको स्थानीय बताउँछन् । अकबरे खेतीमा किसानको आकर्षण बढेसँगै छथर क्षेत्रमा अकबरे नर्सरी उत्पादनबाटै बार्षिक लाखौ रुपैयाँ आम्दानी लिन सफल बनेको छथर–१ क राधा बस्नेतले बताइन् । बजारमा प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री हुने अकबरेको उत्पादन सुुरु हुँदा बजारमा ५ सय रुपैयाँसम्म बिक्री भएको थियो । अकबरे खेतीबाटै यस क्षेत्रका किसानले वार्षिक करोडौं रुपैयाँ भित्र्याउँदै आएका छन् ।