बाँदर विशेषज्ञ टोलीद्वारा निरीक्षण
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
281

बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा आतंक मच्चाउँदै आएको जंगली बाँदर रातो प्रजातिको भएको विशेषज्ञ टोलीले पुष्टी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लक्ष्मण खनाल नेतृत्वको टोलीले यस क्षेत्रमा पाइने उक्त बाँदर अरु प्रजातिभन्दा तुलनात्मक रूपमा बढी रिसालु र आक्रामक हुने बताए । रिसालु, आक्रामक र चलाख मानिने रातो प्रजातिको बांदरले बैतडीको दशरथचन्द नगरपालिकामा अन्नबाली, तरकारी, फलफूल र घरभित्र भएका अन्य सामान नष्ट गर्नुका साथै महिला र बालबालिकामाथि समेत आक्रमण गर्ने गरेको छ । बाँदरले आतंकित दशरथचन्द नगरपालिकामा स्थानीय र जनप्रतिनिधिले बाँदर लखेट्ने अनेक प्रयास गरे पनि सफल हुन सकेको छैन । नेपालमा पाइने तीन प्रजातिका बाँदरमध्ये दशरथचन्द नगरपालिकामा भेटिएको रातो बाँदर बढी आक्रामक भएको बाँदर विशेषज्ञ डा. लक्ष्मण खनालले बताए । ‘मानव र बाँदरबीच द्वन्द्व, कारण र व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा खनालले यस्तो बताएका हुन् । बाँदरको अनुसन्धानका लागि खनाल र अर्का वन्यजन्तु विषेशज्ञ धीरेन्द्र चन्द बैतडी आएका हुन् । यस क्षेत्रमा जंगलको अनुपातमा बाँदरको संख्या धेरै भएकाले समस्या भएको टोलीको निष्कर्ष छ ।

किसानले खेती गर्नै छाडे
बाँदर आतंकले दशरथचन्द नगरपालिका–४, ५, ६ र ८ नम्बर वडाका किसानले खेती लगाउने छाडेका छन् । लगाएको अन्यबाली सबै बाँदरले नष्ट गर्न थालेपछि उनीहरूले खेती लगाउन छाडेका हुन् । बैतडी जिल्लाको सबैभन्दा बढी आँप उत्पादन हुने उक्त क्षेत्रमा पछिल्लो समय बाँदरले सबै आँपसमेत नष्ट गरेको किसानको गुनासो छ । “अन्नबाली त के बजारबाट किनेर लगेको सामानसमेत भित्रै पसेर लैजान्छ,” स्थानीय भुवनबहादुर चन्दले भने । घरको झ्यालबाट भित्र पसी भएको अन्न र कतिपय बेला त परिवारका सदस्यलाई पस्केको खानासमेत बाँदरले खाने गरेको स्थानीयको गुनसो छ । यस क्षेत्रका किसानले बांदर आतंक नियन्त्रण गरिदिन भन्दै सम्बन्धित निकायसँग अपिल गरेका छन् । वडा र नगरपालिकाको सहयोगमा बाँदर आतंक नियन्त्रण नभएकाले प्रदेश तथा केन्द्र सरकाले यसतर्फ ध्यान दिनुपर्ने स्थानीय खिमानन्द भट्टको भनाइ छ ।

 

सातामा धेरै पढिएको