कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
230

सशस्त्र प्रहरी बल (एपीएफ)ले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीहरुलाई निर्वाह भत्ता दिने भएको छ । सशस्त्र प्रहरी बलले यो वर्षदेखि ७० वर्ष नाघेका आफ्ना पूर्वकर्मचारीहरुलाई वार्षिक जनही १२ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने भएको हो ।
बलका प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने सरकारको नीति अनुरुप यस्तो व्यवस्था मिलाइएको बताए । सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रहरी महानिरीक्षक खनालले यो वर्षदेखि एपीएफको अस्पतालमा उपचार हुन नसक्ने दीर्घ रोग लागेका वहालवाला र पूर्व कर्मचारी तथा वहालवालाका सन्तानहरुलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म निःशुल्क उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको बताए ।

उनले यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा बढाइएको पनि बताए । यसअघि २ सय २५ जनाले घर निर्माण तथा जग्गा खरिदका लागि ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २ सय ५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो । बलका प्रमुख प्रहरी महानिरीक्षक खनालले पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको समेत बताए ।
सशस्त्र प्रहरी बलले यो वर्ष विभिन्न अपराधमा संलग्न ६ सय ८६ जनालाई पक्राउ गरी सम्बन्धित निकायलाई बुझाएको छ । यस्तै, बलले यो वर्षदेखि प्रदेश नम्बरको दुईको सप्तरी जिल्लामा सशस्त्र प्रहरी विद्यालय स्थापना गर्ने पनि जनाएको छ ।