कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
228

सोमबार मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमि नगरपालिकाको बोडे क्षेत्रमा मान्छेको भीड बढ्दै थियो । हेर्दाहेर्दै मध्यपुरथिमि–८ बोडेको पाँचौँ गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेका अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । बिस्का जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए ।
त्यही भीडबाट अलिपर प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, प्रदेश नं ३ प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठले जात्राको अवलोकन गर्दै तस्वीर लिन थाले । त्यसको केही बेरमै बाँसको चिम्टी बजाउँदै एक हुल मानिस हातको साङ्लो बनाएर आए, सबैको ध्यान त्यतै केन्द्रित भयो । अघिअघि १० इञ्च लामो सियो बोकेको मानिस र केहीपछि जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पूजा गर्दै ४७ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ आइपुगे । बोडेका बासिन्दाले उनको जयजयकार गरे ।

पाँचौँ गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि कर्मी नाइकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखिएको १० इञ्च लामो सुइराले हजारौँ मानिसकै अगाडि श्रेष्ठको जिब्रो छेडियो । त्यसपछि उनले सबैलाई नमस्कार र अभिवादन गरेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर निस्के । महाद्वीप बोकेर करिब पौने एक घण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगी महालक्ष्मी मन्दिरभित्र प्रवेश गरेपछि सुइरो निकालेर मन्दिरमा ठोकिएपछि जात्रा सम्पन्न भयो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने श्रेष्ठले निराहार व्रत बसेर सोमबार जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकी लगाएर नाट्येश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रामा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताए । “परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रा लोप हुनबाट जोगाउन यस वर्ष पनि मैले जिब्रो छेडेको हुँ,” उनले भने ।
सोमबार नै भक्तपुरमा सिन्दूर जात्रा पनि मनाइयो । थिमिका टोलटोलबाट विभिन्न देवीदेवताका मूर्ति खटमा राखेर सिन्दूर खेल्दै यो जात्रा मनाइन्छ ।
उता, काठमाडौंको टोखामा बिस्केट जात्राको दोस्रो दिन सोमबार सिन्दूर जात्राका लागि रथ यात्रा निकालिएको छ । जात्रा चार दिनसम्म मनाइन्छ ।