महादेव अवस्थी
शुक्रवार, चैत्र १, २०७५
316

निर्मला पन्त हत्याकाण्ड

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणका आरोपी प्रहरी कर्मचारीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सार्वजनिक न्यायविरुद्धको कसुर र यातना विरुद्धको कसुरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारीलाई बिहीबार जिल्ला अदालत कञ्चनपुरले ३२ पानाको आदेश जारी गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातना विरुद्धको कसुरमा मुद्दाका प्रतिवादी तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई पाँच÷पाँच लाख धरौटीमा रिहाको आदेश गरेको छ ।

त्यसैगरी सार्वजनिक न्याय विरुद्धको कसूरमा जगदीशप्रसाद भट्टलाई पनि चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका डिठ्ठा रुद्रप्रसाद बोगटीले जानकारी दिए ।
सार्वजनिक न्याय कसूर विरुद्धको मुद्दाका प्रतिवादीहरु तत्कालीन प्रहरी नायव निरीक्षक हरिसिंह धामीलाई तीन लाख ५० हजार र प्रहरी नायव निरीक्षक रामसिंह धामीलाई तीन लाख र प्रहरी जवान चादँनी साउँदलाई २ लाख ५० हजारमा धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्याय विरुद्धको कसूरमा तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट सहित आठ जना प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले भाइ दिलिपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जना विरुद्ध मुद्दा दायर गरेका थिए ।
सो मुद्दामा अन्य प्रतिवादीहरु तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक अंगुर जिसी फरार रहेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ । दुवै मुद्दामा प्रतिवादी रहेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी नायव उपरीक्षक अंगुर जिसी भने फरार रहेको अदालतले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरका डिठ्ठा बोगटीले फरार प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन ३५ दिने सुचना जारी समेत भइसकेको बताए । उनले बिहीबार बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताए । गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । बालीका पन्तको हत्या भएको करिब आठ महिना पुग्नै लाग्दा समेत अपराधी सार्वजनिक हुन सकेको छैन ।