कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
331

पश्चिमी वायुको प्रभावका कारण गएको तीन दिनदेखि काठमाडौं उपत्यकासहित देशभर बदली र वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । काठमाडौँमा २१.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, वीराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ ।

शनिबार काठमाडौँको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस थियो । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्रिमा झरेको थियो । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम १४ डिग्रिसेल्सियस रहेको थियो । पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले आजदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर बदली र वर्षाका साथै हिमपातको सम्भावना औंल्याएको छ । रातको समयमा पनि पूर्वी भेगमा सामान्य बदली र थोरै स्थान तथा मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । पहाडी भेगमा सामान्य बदली रहेपनि बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
लगातारको वर्षाले राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको थियो । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको थियो ।