कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
501

उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख घूस लिँदै गर्दा पक्राउ परेका छन् । एक सेवाग्राहीलाई रकम नदिए सर्वोच्चमा जाने धम्की दिएका थापा बुधबार बिहान पौने नौ बजे कार्यालयबाट पाँच लाख रुपयाँ घूस रकमसहित रंगेहात समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।
घूस खाने नियतले थापाले सेवाग्राहीलाई दुःख दिएपछि सेवाग्राहीले उक्त रकम दिएको दिँदादिँदै उनी पक्राउ परेको बताइन्छ । सेवाग्राहीबाट रकम असुल्ने उद्देश्यले कार्यालय समयभन्दा करिब एक घण्टाअघि नै थापा कार्यालय पुगेका थिए ।

अभियुक्त थापालाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले बताए । कसैले यसरी सेवाग्राहीलाई दुःख दिने नियतले घूस खान खोजे अख्तियारमा खबर गर्न कार्यालयले आग्रह गरेको छ ।
यसैबीच, कास्कीका मालपोत अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा पनि ५० हजार रुपयाँ घूस लिँदै गर्दा पक्राउ परेका छन् । घूस लेनदेनमा संलग्न भएका नायब सुब्बा रामचन्द्र पौडेल भने फरार भएको बताइन्छ । अख्तियारको मुद्दा विषेश अदालतले हेर्ने गर्छ ।