कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५
330

सेयर बजार बढ्ने क्रम बिहीबार रोकिएको छ । गत साताको अन्तिम दिनदेखि बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) यो साताको अन्तिम दिन बिहीबार घटेको हो । बुधबार २३ अंकले बढेको नेप्से बिहीबार ४ अंकभन्दा धेरैले घटेको हो । बैंक÷वित्तीय संस्थाले ब्याजदर घटाउने हल्लाले बढेको सेयर बजार बिहीबार घटेको हो । एक सातासम्म निरन्तर बढेको नेप्से लगानीकर्ताले नाफा बुक गर्दा बिहीबार घटेको हो । बजारमा आएको उतारचढावमा सेयर कारोबारी लगानीकर्ताले छोटो अवधिमै नाफा बुक गर्न खोज्दा नेप्से घटेको हो ।
बिहीबार पनि कारोबारको सुरुमा २० अंकभन्दा धेरैले बढेको नेप्से समय बित्दै जाँदा घट्दो क्रममा देखिएको हो । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको नकारात्मक प्रभाव समग्र बजारमा देखिएको हो ।
बिहीबार नेप्से परिसूचक घटेको भए पनि कारोबार रकममा भने सुधार आएको छ । नेप्सेमा ७९ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यो कारोबार रकम नेप्सेको औसत दैनिक कारोबार रकमभन्दा धेरै हो ।

बिहीबार कारोबार सुरु हुँदा १२३४.१३ अंकमा रहेको नेप्से ४.३६ अंकले घटेर १२२९.७७ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।
बिहीबार नेप्सेका कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.०९, विकास बैंक १५.०९, जीवन बिमा ३८.८२, निर्जीवन बिमा ८४.०७, वित्त ३.२२, जलविद्युत् १५.९६, होटल ४.९४ र लघुवित्त समूह १५.०८ अंकले घटेका छन् । तर, अन्य समूह १४.०५, व्यापार ३.७६ र उत्पादनमूलक समूह भने २०.४१ अंकले बढेका छन् ।
बिहीबार नेप्सेमा १७४ कम्पनीको ८६५३ कारोबारबाट ७९ करोड ७३ लाख रुपैयाँ बराबरको ३२ लाख ३९ हजार ९८५ कित्ता सेयर खरिद बिक्री भएको छ ।