कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
347

काठमाडौं-नेपालीकांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा बहुमत केन्द्रीय सदस्य आफूसँग रहेको दाबी गर्दै असन्तुष्ट समूहले महाधिवेशनको मिति घोषणा गरेको छ । अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगराउन खोजेको आरोप लगाउँदै उनीसँग रुष्ट समूहले बहुमतको भेलाको निर्णय भन्दै बुधबार पत्रकार सम्मेलन गरेर महाधिवेशन घोषणा गरेको हो ।
यसअघि अध्यक्ष महरले सोमबार महाधिवेशनको मिति तोक्न भन्दै साउन ४ र ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । नेविसंघका उपाध्यक्ष प्रकाश राना, नवीन राई, डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी र महामन्त्री कुन्दनराज काफ्लेले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन हुने घोषणा गरेका छन् । १२९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये दुई तिहाई आफूहरुसँग रहेको पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले दाबी गरे । महाधिवेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु समेत उनीहरुले गठन गरेका छन् । यसरी पत्रकार सम्मेलन गर्ने समूह कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह निकट समूह हो । राई र राना सिंह निकट हुन् भने महामन्त्री काफ्लेसहित उपाध्यक्ष सुवेदी र अधिकारी सिटौला समूहका हुन् ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष राईले अब अध्यक्ष महरको नेतृत्वमा अघि जान नसकिने अवस्था आएको बताए । बैठकले संघको विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरु केन्द्रीय समितिको बहुमतको बैठकबाट मनोनयन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नविन राईले बताए । त्यस्तै, बैठकले विधिवत अधिवेशन सम्पन्न गर्नका लागि पूर्ण केन्द्रीय समितिको बैठक साउन ४ र ५ गते बस्ने र सो बेठकले जिल्ला तथा क्याम्पसमा केन्द्रीय प्रतिनिधिहरु खटाउने निर्णय भएको केन्द्रीय सदस्य सुनिता पोख्रेलले जानकारी दिइन् ।
महामन्त्री काफ्लेले अध्यक्ष नैनसिंह महरले संगठनभित्र आन्तरिक कलह निमन्त्रणा गरेर सिंगो संगठनलाई दिशाहिन र निस्तेज गर्ने प्रयास गरेको आरोप लगाए । उनले अध्यक्ष महर अधिनायकवादी बनेकाले आफूहरुले बहुमत केन्द्रीय सदस्यको बैठकबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको बताए । उनले अध्यक्ष महरले नियुक्त गरेका सबै नियुक्ति आफूहरुको बैठकले खारेज गरेको पनि उनले बताए ।